काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले राष्ट्रियसभालाई राजनीतिक दलहरूले हारेका नेतालाई लैजाने ठाउँ बनाइएको आरोप लगाएका छन्। शनिवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले कहीँ कतै अवसर नपाएका तथा निर्वाचन हारेकालाई लैजाने थलोको ठाउँ बनाइएको आरोप लगाएका हुन्। उनले राष्ट्रियसभामा कुनै अपवाद बाहेक योग्य प्रतिनिधि पठाउन राजनीतिक दलहरू असफल भएको बताए।
घिमिरेका अनुसार लामो समयसम्म राजनीतिक अवसर नपाएका वा चुनावमा पराजित भएका व्यक्तिहरूलाई राष्ट्रियसभामा पठाउने प्रवृत्तिले यसको गरिमा, प्रतिष्ठा र प्रभावकारिता कमजोर बनाएको छ। राजनीतिमा वर्षौँ अवसर नपाएका व्यक्तिहरूलाई राष्ट्रियसभामा थन्काइदिने अभ्यासले यस संस्थाको भूमिकालाई अवमूल्यन गरेको उनले बताए।
जिल्ला समन्वय समिति पनि यस्तै प्रवृत्तिको शिकार भएको उनको आरोप छ। स्थानीय तह वा प्रदेश तहमा पराजित व्यक्तिलाई जिल्ला समन्वय समितिमा पठाएर व्यवस्थापन गर्ने चलन बढेको उनले उल्लेख गरे।
उनले संविधान संशोधनमार्फत जिल्ला समन्वय समितिलाई अधिकारसम्पन्न र स्रोतसाधनयुक्त बनाउनुपर्ने आवश्यकता औँल्याए। अन्यथा यस्ता संस्थाहरूको औचित्य नै समाप्त हुने उनको भनाइ छ।
घिमिरेले भने, ‘चुनाव लड्दा लड्दा हारे, पार्टीमा पनि कुनै भूमिका पाएनन् भने अनि राष्ट्रियसभामा लगेर थन्काइदिने। त्यसको गरिमा, प्रतिष्ठा र भूमिकालाई अवमूल्यन गरिदिने। कामै गर्न नसक्ने व्यक्तिहरू चयन गरिदिने अवस्थामा राष्ट्रियसभालाई पुर्याइएको छ। अपवादका कुनै पात्र बाहेक राष्ट्रियसभामा सही प्रतिनिधित्व राजनीतिक दलहरूले गर्न सकिरहेका छैनन्।’
सरकारका संस्थाहरूलाई बलियो बनाउन सबै राजनीतिक दलहरू गम्भीर हुनुपर्नेमा जोड दिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij