काठमाडौँ : नेपालले लगातार दोस्रो जीत निकाल्दै घरेलु भूमिमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आइतबार भएको खेलमा नेपालले माल्दिभ्समाथि ३-० को सोझो सेटमा जित निकाल्यो । समूह ‘ए’ को नेपालको तेस्रो खेलमा यो दोस्रो जित हो।
भारतसँग ३–२ को सेटमा प्रतिस्पर्धात्मक हारबाट नेपालले काभा महिला भलिबल च्याम्पियनसिपको शुरुवात गरेको थियो। चार टोली सम्मिलित समूह ‘ए’ को बाँकी दुई खेलको नतिजा आफ्नो बनाउँदै नेपाल सेमिफाइनलमा पुगेको हो। समूह विजेताको टुङ्गो भने सोमबार हुने लिग चरणको अन्तिम खेलले तय हुनेछ।
यो समूहको अन्तिम खेलमा भारत र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ। भारतलाई सोझो सेटमा हराएम किर्गिस्तान यो समूहबाट सेमिफाइनलमा पुग्नेछ । सेमिफाइनलमा पुग्न भारतलाई भने ३-२ को सेटको नतिजा पनि पर्याप्त हुनेछ।
तीन खेलबाट नेपाल सात अंकसहित शिर्ष स्थानमा छ। समूहमा दोस्रो स्थानको भारतको पाँच, किर्गिस्तानको तीन अंक छ । माल्दिभ्स अंकविहीन रहँदै समूह चरणबाट बाहिरिएको छ।
यसअघि आइतबार नै भएको खेलमा इरानले श्रीलंकालाई २५-१६, २५-१३ र २५-११ ले हरायो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij