चितवन : सरकारले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटको चितवनका उद्योग व्यवसायीले स्वागत गरेका छन् । उनीहरूले बजेटबाट राम्रो आशा गर्न सकिने बताउँदै चितवनलाई समेटेकोमा खुसी व्यक्त गरेका छन् । उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य शङ्कर गिरीले भरतपुर विमानस्थललाई स्तरवृद्धि गरी रात्रिकालीन उडान सञ्चालन गरिने कुरालाई बजेटमा समेटिनु स्वागतयोग्य भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले लामो समयदेखि माग गर्दै आएको विषयलाई बजेटले सम्बोधन गर्दा खुसी भएका छौँ । रात्रिकालीन उडानसँगै ठुला जहाज अवतरण गर्ने र भाडादर घटाउने विषयले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्दछ ।” उहाँले चितवन देशकै तेस्रो पर्यटकीय क्षेत्र रहेको भन्दै रात्रिकालीन उडान भएमा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले पर्यटकीय क्षेत्रलाई रातिमा पनि खुला गर्ने कुरा महत्त्वपूर्ण भएकोमा सरकारलाई धन्यवाद दिनुभयो । चितवनलाई सम्बोधन गरेर भण्डारा–मलेखु सडकको स्तरोन्नति गरी चेपाङ समुदायको आर्थिक विकासमा कार्यक्रम ल्याउने जस्ता विषयले स्वागतयोग्य मान्न सकिने बताउनुभयो ।
यस्तै देवघाट, कालीगण्डकीसहित धार्मिक क्षेत्र जोडेर शालिग्राम धार्मिक मार्ग बनाउने कुराले उत्साहित भएको उहाँले बताउनुभयो । सङ्घका अर्का केन्द्रीय सदस्य सुमनकुमार श्रेष्ठले बजेटले व्यवसायमा कर छुटको माग राखेकोमा व्यक्तिको आम्दानीमा छुट आए पनि समग्रमा बजेटलाई राम्रो मान्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “उद्योगीलाई कच्चा पदार्थ आयातमा छुट दिने कुरा, कर्मचारीको तलब वृद्धि, पुँजीकर लाभकरको अन्तिम विन्दुलगायतका विषय स्वागतयोग्य रहेको छ ।”
उद्योगी व्यवसायीले माग गरेका सबै विषय नसमेटिए पनि बजेटमा अन्य कार्यक्रम भने राम्रो आएको बताउँदै कार्यान्वयन पक्ष हेर्नुपर्ने बताएका छन् । चितवन जिल्लामा सानाठुला गरी एक हजार दुई सयभन्दा धेरै उद्योग सञ्चालनमा छन् । चितवन उद्योग सङ्घका अध्यक्ष मदन घिमिरेले दर्ता भएर सञ्चालनमा रहेका मात्र एक हजार दुई सयभन्दा माथि रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “उद्योगमा आबद्ध भएका ५७ हजारभन्दा धेरै जनाले रोजगारी पाइराखेका छन् । यसबाट प्रत्यक्ष अप्रत्यक्ष गरी तीन लाखभन्दा माथि रहेको हामीले अनुमान गरेका छौँ ।”
जिल्लामा रहेका खजुरी बिस्कुट उद्योग, प्लाई उद्योग, अर्ना बियर उद्योगमा तीन सयभन्दा धेरैले रोजगारी पाएका छन् । तीबाहेक अन्य ठुला दर्जनभन्दा धेरै उद्योगले सयौँलाई प्रत्यक्ष रोजगारी दिएको उहाँले बताउनुभयो । उहाँले बजेटले उत्पादनलाई प्राथमिकता दिएको बताउनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij