Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

डीआईजी रानाको उपहार :  निसर्ग अस्पताल र सुदूरपश्चिम प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई स्वास्थ्य सेवामा २५ प्रतिशत सम्म छुट

डीआईजी रानाको उपहार :  निसर्ग अस्पताल र सुदूरपश्चिम प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई स्वास्थ्य सेवामा २५ प्रतिशत सम्म छुट

धनगढी  : कैलालीको धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबीच प्रहरी कर्मचारी तथा उनीहरूका परिवारलाई स्वास्थ्य सेवामा विशेष सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।शनिवार सम्पन्न सम्झौताअनुसार सुदूरपश्चिम प्रदेशमा कार्यरत बहालवाला नेपाल प्रहरी कर्मचारी, अवकाश प्राप्त प्रहरी कर्मचारी, अमर तथा वीरगति प्राप्त प्रहरीका आश्रित परिवारले निसर्ग अस्पतालमा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।


सम्झौतामा बहालवाला प्रहरी कर्मचारीका आमा, बुवा, श्रीमती तथा छोरा–छोरी, अवकाश प्राप्त प्रहरीका आश्रित परिवार तथा अमर एवं वीरगति प्राप्त प्रहरीका आश्रित परिवारलाई लक्षित गरी स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराइने उल्लेख छ।

सम्झौताअनुसार ओपीडी सेवा, एक्स–रे, यूएसजी, सिटी स्क्यान, ईसीजी, इको, टीएमटी, एबीपी, होल्टर, प्रयोगशाला सेवा, फिजियोथेरापी, शल्यक्रिया सेवा, बेड तथा भेन्टिलेटर सेवामा २५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ। यस्तै औषधि खरिदमा ७ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।

सहुलियत सुविधा प्राप्त गर्न सेवाग्राहीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको सिफारिस पत्र वा आफ्नो परिचय खुल्ने आधिकारिक परिचयपत्र पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

निसर्ग अस्पतालका अध्यक्ष तिर्थराज पन्त र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ओमबहादुर रानाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौताको साक्षीका रूपमा निसर्ग अस्पतालका मेडिकल डाइरेक्टर डा। मेराज आलम अन्सारी र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेश विक्रम शाही रहेका छन् भने प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर बिष्टले रहोबरमा हस्ताक्षर गरेका छन्।

दुवै पक्षबीच भएको उक्त सम्झौता प्रत्येक आर्थिक वर्षमा नवीकरण गरिने तथा आवश्यकताअनुसार आपसी सहमतिमा संशोधन गर्न सकिने जनाइएको छ। 

निसर्ग अस्पतालले उक्त सम्झौताले राष्ट्रसेवामा समर्पित प्रहरी कर्मचारी तथा उनीहरूका परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

सम्झौतामा हस्ताक्षरपछि डीआईजी रानाले निसर्ग हस्पिटललाई धन्यवाद दिए । उनले यो सम्झौताले प्रहरी कर्मचारी तथा उनीहरूका परिवारलाई ठूलो राहत हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट