Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

रास्वपा महाधिवेशन भरतपुरमा आइतबारदेखि सुरु हुँदै, यस्तो छ निर्वाचनको पूर्ण कार्यतालिका

रास्वपा महाधिवेशन भरतपुरमा आइतबारदेखि सुरु हुँदै, यस्तो छ निर्वाचनको पूर्ण कार्यतालिका

चितवन  :   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन भोलि आइतबारदेखि चितवनको भरतपुरस्थित औद्योगिक प्रदर्शनी केन्द्रमा भव्य रूपमा सुरु हुँदै छ ।

महाधिवेशनको पूर्वसन्ध्यामा आज शनिबार दिनभर महाधिवेशन स्थलमा अन्तिम तयारीका कामहरू तीव्र पारिएको छ ।


केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनका लागि आवश्यक पर्ने प्राविधिक तथा प्रशासनिक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । देशभरबाट चुनिएर आएका महाधिवेशन प्रतिनिधिहरूको आगमन र बसोबासको व्यवस्थापन मिलाउने काम आजै सम्पन्न गरिएको छ । यसैबिच पार्टीको निर्वाचन आयोगद्वारा कार्यतालिका सार्वजनिक गरिएको छ । महाधिवेशनका क्रममा हुने नयाँ नेतृत्व चयनका लागि रास्वपा केन्द्रीय निर्वाचन आयोगले विस्तृत कार्यतालिका सार्वजनिक गरेको हो ।


महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली आज राति साढे ८ बजे पार्टीको वेबसाइटमार्फत प्रकाशन गरिनेछ । उक्त नामावलीमा दाबी–विरोधका लागि भोलि बिहानसम्मको समय दिइएको छ । त्यस्तै उम्मेदवारी मनोनयनका लागि फारम वितरण भोलि दिउँसो १ बजेदेखि सुरु हुने जनाइएको छ भने मनोनयन पत्र दर्ता दिउँसो २ बजेदेखि ४ बजेसम्म हुनेछ । उम्मेदवारहरू विरुद्ध दाबी–विरोध गर्ने समय साँझ ६ देखि ७ बजेसम्म तोकिएको छ । उम्मेदवारी फिर्ता लिन चाहनेहरूले राति सवा ८ बजेसम्मको समय पाउनेछन् । उम्मेदवारहरूको अन्तिम नामावली भोलि राति ११ बजे प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । 


पहिलो चरणको मतदान  पार्टी सभापति र केन्द्रीय सदस्यहरूका लागि० पर्सि बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । मतदान सम्पन्न भएको २ घण्टापछि नै मतगणना सुरु गरी परिणाम घोषणा गरिने कार्यतालिका बनाइएको छ । 


महाधिवेशनलाई मध्यनजर गर्दै चितवनको सुरक्षा व्यवस्था कडा पारिएको छ भने पार्टीका झण्डा र चुनाव चिन्ह ुघण्टीु ले भरतपुर क्षेत्र सजिएको छ। पार्टी सभापति रवि लामिछाने लगायतका शीर्ष नेताहरू आजै चितवन पुगिसकेका छन् । 

महाधिवेशनले पार्टीको नयाँ नीति र नेतृत्व चयन गर्दै आगामी राजनीतिक दिशा तय गर्ने अपेक्षा गरिएको छ। दोस्रो चरणको उम्मेदवारी तथा थप निर्वाचन कार्यक्रम आवश्यकता अनुसार पछि प्रकाशन गरिने निर्वाचन आयोगले उल्लेख गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट