Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा ३ जनाको नाम सिफारिस

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा ३ जनाको नाम सिफारिस

चितवन : भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस गरिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय स्रोतका अनुसार डा. अजयकुमार झा, डा. योगेन्द्रप्रसाद सिंह र डा. विजयचन्द्र आचार्यको नाम अन्तिम छनोटका लागि सिफारिस गरिएको हो।

स्वास्थ्यमन्त्री निकट स्रोतले तीन जनाको नाम सिफारिस भएको पुष्टि गर्दै अन्तिम निर्णय भने हुन बाँकी रहेको जनाएको छ। “तीन जनाको नाम सिफारिस भएको पक्का हो। अझै अन्तिम निर्णय भएको छैन। प्रक्रिया पूरा भएपछि औपचारिक जानकारी दिइन्छ,” स्रोतले भन्यो। मन्त्रालयले भने सिफारिसमा परेका उम्मेदवारहरूको नाम औपचारिक रूपमा सार्वजनिक गरेको छैन।

स्वास्थ्य मन्त्रालयले गत वैशाख १५ गते बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको थियो। अस्पताल ऐन, २०५३ को दफा ७ को उपदफा (१) को खण्ड (क) बमोजिम योग्य उम्मेदवारहरूबाट दरखास्त माग गरिएको थियो। यसै क्रममा मन्त्रालयले गत जेठ २७ गते अध्यक्ष पदका लागि आवेदन दिएका सात जनाको प्रारम्भिक सूची सार्वजनिक गरेको थियो। प्रारम्भिक सूचीमा डा. अजयकुमार झा, डा. जया श्रेष्ठ, डा. भावना वाग्ले, डा. योगेन्द्रप्रसाद सिंह, डा. लक्ष्मीनारायण सिंह, डा. विजयचन्द्र आचार्य र डा. विश्वराम पौडेलको नाम समावेश थियो।

सात जनामध्येबाट मूल्यांकन तथा छनोट प्रक्रियापछि तीन जनाको नाम सिफारिस गरिएको हो। अब मन्त्रिपरिषद्को निर्णयपछि अस्पतालले नयाँ अध्यक्ष पाउने अपेक्षा गरिएको छ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल देशकै प्रमुख क्यान्सर उपचार केन्द्रका रूपमा परिचित छ। अस्पतालको अध्यक्ष पद लामो समयदेखि रिक्त रहँदा नीतिगत निर्णय र व्यवस्थापकीय कार्यसम्पादनमा असर परेको भन्दै नयाँ नेतृत्व नियुक्तिको आवश्यकता औँल्याइँदै आएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट