Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

कालीमाटीमा बिक्रीका लागि ल्याइएको रायो सागमा अत्यधिक विषादी, उपभोग नगर्न आग्रह

कालीमाटीमा बिक्रीका लागि ल्याइएको रायो सागमा अत्यधिक विषादी, उपभोग नगर्न आग्रह

काठमाडौं : मुलुककै ठूलो तरकारी तथा फलफूल बजार कालीमाटीमा बिक्रीका लागि ल्याइएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएपछि उपभोगका लागि अयोग्य ठहर गरिएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार भक्तपुरको मध्यपुर थिमि नगरपालिकाबाट मंगलबार बिक्रीका लागि ल्याइएको रायो सागमा ८०.०१६० प्रतिशत ‘अर्गानोफस्फेट’ विषादी फेला परेको हो। केन्द्रीय कृषि प्रयोगशालाले शुक्रबार कालीमाटी बजारका १२ वटा पसलबाट सङ्कलन गरिएका १२ प्रकारका तरकारी तथा फलफूलको विषादी परीक्षण गरेको थियो। परीक्षणका क्रममा रायो सागमा सरकारले तोकेको मापदण्डभन्दा निकै बढी विषादी भेटिएपछि उक्त सागलाई उपभोगका लागि अयोग्य घोषणा गरिएको समितिले जनाएको छ।

सरकारी मापदण्डअनुसार विषादीको अवशेष ३५ प्रतिशतभन्दा कम भएमा तरकारी उपभोगयोग्य मानिन्छ। ३५ देखि ४५ प्रतिशत सम्म भए केही दिन राखेर मात्रै उपभोग गर्न मिल्ने व्यवस्था छ भने ४५ प्रतिशतभन्दा बढी विषादी भेटिए त्यस्ता तरकारी तथा फलफूल उपभोगका लागि अयोग्य मानिने प्रावधान रहेको छ।

यसअघि पनि असार १२ गते गरिएको परीक्षणमा धादिङको गजुरी गाउँपालिकाबाट ल्याइएको लौकामा ६६.५१ प्रतिशत, मकवानपुरको थाहा नगरपालिकाबाट आएको काउलीमा ६४.५४ प्रतिशत र सल्यानबाट ल्याइएको आलुमा ६६.९९ प्रतिशत विषादी भेटिएको थियो। लगातार विभिन्न जिल्लाबाट ल्याइएका तरकारीमा उच्च मात्रामा विषादी भेटिन थालेपछि उपभोक्तामा खाद्य सुरक्षाप्रति चिन्ता बढेको छ। सम्बन्धित निकायले नियमित अनुगमन, विषादी परीक्षण तथा सुरक्षित कृषि उत्पादनमा जोड दिनुपर्ने आवश्यकता समेत औँल्याइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट