चितवन : सरकारले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा वरिष्ठ चिकित्सक डा. योगेन्द्रप्रसाद सिंहलाई नियुक्त गरेको छ। नियुक्तिपछि डा. सिंहले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शपथसँगै उनले अस्पतालको अध्यक्षको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन्।
अध्यक्ष पदका लागि प्राप्त आवेदनमध्ये छनोट समितिले डा. योगेन्द्रप्रसाद सिंह, डा. अजयकुमार झा र डा. विजयचन्द्र आचार्यको नाम अन्तिम सिफारिसमा पठाएको थियो। सरकारद्वारा सोही सिफारिसमध्येबाट डा. सिंहलाई अध्यक्षमा नियुक्त गरिएको हो।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा करिब ४६ वर्ष लामो सेवा गरी अवकाश प्राप्त डा. सिंह स्वास्थ्य क्षेत्रका अनुभवी तथा वरिष्ठ चिकित्सकका रूपमा परिचित छन्। चिकित्सा सेवा, स्वास्थ्य व्यवस्थापन तथा क्यान्सर उपचारसम्बन्धी क्षेत्रमा उनको लामो अनुभव रहेको बताइन्छ।
डा. सिंहको नियुक्तिसँगै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सेवा प्रवाह, व्यवस्थापन र संस्थागत सुधारमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। देशकै प्रमुख क्यान्सर उपचार केन्द्रका रूपमा रहेको यस अस्पतालले हजारौं बिरामीलाई विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij