Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

पोषण प्रवर्द्धनका लागि समिटार विद्यालयमा अण्डा वितरण

पोषण प्रवर्द्धनका लागि समिटार विद्यालयमा अण्डा वितरण

चितवन  : पशु सेवा कार्यालय चितवनको आयोजना तथा नेपाल कुखुरा व्यवसायी मञ्चको सहआयोजनामा राप्ती नगरपालिका–१० स्थित राष्ट्रिय माध्यमिक विद्यालय, समिटारका विद्यार्थीलाई अण्डा वितरण गरिएको छ।

विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष भरतलाल चेपाङको सभापतित्वमा आयोजित कार्यक्रममा पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपाने प्रमुख अतिथि तथा नेपाल कुखुरा व्यवसायी मञ्चका महासचिव डा. विष्णुहरि शर्मा विशिष्ट अतिथि रहेका थिए। कार्यक्रममा नेपाल लेयर्स कुखुरापालक सङ्घका सचिव मदन पोखरेल, नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बराल तथा पशु सेवा कार्यालय चितवनका कर्मचारीहरूको समेत सहभागिता रहेको थियो।

विद्यालयका सहायक प्रधानाध्यापक दिनेश पौडेलले सञ्चालन गरेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष चेपाङले स्वागत मन्तव्यसहित विद्यालयको वर्तमान अवस्था र आवश्यकताबारे जानकारी गराएका थिए।

कार्यक्रममा विशिष्ट अतिथि डा. विष्णुहरि शर्माले अण्डामा पाइने पोषण तत्व, यसको नियमित सेवनको महत्व तथा सन्तुलित आहारका रूपमा अण्डाको भूमिकाबारे जानकारी गराए। प्रमुख अतिथि डा. प्रभात न्यौपानेले अण्डा प्राकृतिक रूपमा उच्च पोषणयुक्त खाद्यवस्तु भएकाले यसमा कुनै प्रकारको मिसावट हुन नसक्ने र जुनसुकै उमेर समूहका व्यक्तिले सुरक्षित रूपमा सेवन गर्न सक्ने बताए। उनले पशु सेवा कार्यालय चितवनले सञ्चालन गरिरहेका विभिन्न कार्यक्रम तथा सेवाबारे पनि जानकारी गराएका थिए।

यस शैक्षिक वर्षमा विद्यालयमा ४९१ जना विद्यार्थी भर्ना भएका छन्। ती विद्यार्थीका लागि कुल २ हजार ७३० वटा अण्डा हस्तान्तरण गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट