Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

मूल्य नपाउँदा बारीमै नष्ट हुँदै धनकुटाको मुला

मूल्य नपाउँदा बारीमै नष्ट हुँदै धनकुटाको मुला

 धनकुटा : कोशी प्रदेशमै ‘तरकारीको राजधानी’का रुपमा परिचित धनकुटाको छथर जोरपाटी गाउँपालिका किसानले उत्पादन गरेको मूला खेतबारी मै कुहिन थालेको छ ।

बजारमा उचित मूल्य नपाउँदा सयौं किसानले लगाएको मुला नयाँ बाली लगाउने समय आइसक्दा पनि बिक्री नभएपछि किसानले आफ्नै मेहनतले फलाएको बाली नष्ट गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । छथर जोरपाटी गाउँपालिकाको जोरपाटी, सिधुवा, मजुवा, चुलाचुली, सल्ले, चप्परीचोक, फुत्रुङडाँडा, गुराँसे, बोक्रे र रोटेआहाललगायत क्षेत्र व्यावसायिक तरकारी उत्पादनका लागि प्रसिद्ध छन् । विशेष गरी मूला खेती यहाँको प्रमुख नगदेबाली म्ध्येको एक हो ।

तर, यस वर्ष किसानले प्रतिकिलो पाँचदेखि छ रुपैयाँसम्ममा मात्रै मूला बिक्री गर्नुपर्ने अवस्था आएको छ । यही मूल्यमा मल, बीउ, विषादी, सिँचाइ, मजदुरी, ढुवानी र जग्गा तयारीको लागत समेत नउठ्ने किसानहरू बताउँछन् । गुराँसेका व्यावसायिक किसान इन्द्र सारु मगरले मूलाको मूल्यले उखेलेर बजार पठाउन खेतालालाई दिनुपर्ने ज्याला पनि नआउने अवस्था रहेको बताए । ‘पाँच रुपैयाँ किलोमा बेच्नु भनेको घाटामाथि अर्को थप घाटा हो’, सारु मगरले भने, ‘त्यसैले थप घाटा थप्नु भन्दा मूला बारीमै कुहिन दिएका छौं ।’

उनका अनुसार सुरुमा प्रतिकिलो २० रुपैयाँसम्म बिक्री भएको मूला एकैपटक बजारमा धेरै परिमाणमा पुगेपछि मूल्य एकाएक घटेको हो । अहिले बजारमा खरिदकर्ता कम छन् भने उत्पादन अत्यधिक भएकाले किसान निराश भएको सारु मगरले बताए । बारीमा पसिना बगाएर उत्पादन गरेको बाली आफैंले नष्ट गर्नु कुनै पनि किसानका लागि सहज निर्णय होइन । तर छथर जोरपाटीका किसान अहिले यही पीडादायी अवस्थाबाट गुज्रिरहेका छन् । कतै गोरुले जोतेर मुला माटोमा मिसाइँदै छ, कतै यान्त्रिक हलोले उत्पादन पल्टाइँदै छ ।

कतिपय किसानले नयाँ बाली लगाउन बारी खाली गर्न मूला कुहिने विषादी छर्किएर नष्ट गरिरहेका छन् । बारीभरि कुहिएका मूलाबाट दुर्गन्ध फैलिन थालेको छ । बारीमै मुला नष्ट गर्नु परेपछि किसानहरुले उत्पादनको नोक्सानी मात्र होइन, महिनौंको श्रम, लगानी र आशा पनि माटोमा मिलेको छ । मूलाको मूल्य नपाउँदा छथर जोरपाटी गाउँपालिकाका करिब तीन हजार किसान परिवार प्रत्यक्ष प्रभावित भएका छन् । गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बा स्वयं पनि व्यावसायिक किसान हुन् । उनले आफ्नै करिब २० रोपनीमा लगाएको मूला बारीमै नष्ट गर्नुपरेको बताए ।

उनका अनुसार ५ रुपैयाँ प्रतिकिलोमा बिक्री गर्दा लागत समेत नउठ्ने भएकाले धेरै किसानले उत्पादन नष्ट गर्नुको विकल्प नदेखेका हुन् । मूलाले उचित मूल्य नपाउँदा गाउँपालिकाका किसानले दुई करोड रुपैयाँभन्दा बढी आर्थिक क्षति बेहोर्नपरेको गाउँपालिका अध्यक्ष सुब्बाले बताए । ‘स्थानीय सरकारले बजार नियन्त्रण गर्न सक्दैन । हामीले उत्पादन बढाउन किसानलाई प्रोत्साहन गरेका छौं’, सुब्बाले भने, ‘तर उत्पादन बिक्री हुने सुनिश्चितता गर्ने जिम्मेवारी संघ र प्रदेश सरकारको पनि हो ।’

छथर जोरपाटीमा किसानले पाँचदेखि छ रुपैयाँ प्रतिकिलोमा पनि बिक्री गर्न नसकेको मूला धनकुटा सदरमुकाममा भने ३० देखि ३५ रुपैयाँ प्रतिकिलोसम्ममा बिक्री भइरहेको छ । किसानले पाउने मूल्य र उपभोक्ताले तिर्नुपर्ने मूल्यबीचको ठूलो अन्तरको लाभ बिचौलिया र असंगठित बजार प्रणालीले लिइरहेको किसानहरुको गुनासो छ । छथर जोरपाटी मूला मात्र नभई आलु, बन्दाकोपी, काउली, भेडेखुर्सानी, स्कुस र मटरकोसा उत्पादनका लागि पनि परिचित क्षेत्र हो । बर्सेनि उत्पादन बढ्दै गए पनि बजार व्यवस्थापनको समस्या जहिल्यै उस्तै रहेको छ ।

स्थानीयका अनुसार भारततर्फ निर्यातमा अवरोध आउँदा स्थानीय बजारमा अत्यधिक आपूर्ति हुन्छ । संकलन केन्द्र, शीतभण्डार र प्रशोधन उद्योगको अभावले उत्पादन लामो समय सुरक्षित राख्न सकिँदैन । जसले गर्दा किसान बाध्य भएर अत्यन्तै कम मूल्यमा बिक्री गर्न वा उत्पादन नै नष्ट गर्नुपर्ने अवस्था आउने गरेको छ । किसानहरुले कृषि उपजको न्यूनतम समर्थन मूल्य निर्धारण, शीतभण्डार निर्माण, स्थानीय संकलन केन्द्र स्थापना, ढुवानीमा अनुदान, प्रशोधन उद्योग स्थापना तथा प्रभावकारी बजार व्यवस्थापनको माग गदै आएका छन् । सरकारले उत्पादन बढाउन मात्रै होइन, बिक्री हुने सुनिश्चितता पनि गर्नुपर्ने किसानको माग छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट