Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

भरतपुर अस्पतालमा प्रविधिमैत्री सेवा विस्तार, क्यूआर टिकटदेखि आइसियु प्रतीक्षा व्यवस्थापनसम्म नयाँ प्रणाली लागू

भरतपुर अस्पतालमा प्रविधिमैत्री सेवा विस्तार, क्यूआर टिकटदेखि आइसियु प्रतीक्षा व्यवस्थापनसम्म नयाँ प्रणाली लागू

चितवन : निजी अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको सेवा बन्द भएपछि बिरामीको चाप बढेको भरतपुर अस्पतालले सेवा प्रवाहलाई सहज र व्यवस्थित बनाउन सूचना प्रविधिमा आधारित नयाँ प्रणाली लागू गरेको छ। बिरामीको बढ्दो भीड व्यवस्थापन गर्न अस्पतालले क्यूआर कोडमार्फत ओपीडी टिकट काट्ने व्यवस्था सुरु गरेको छ भने आइसियु सेवामा प्रतीक्षारत बिरामीको विवरण विद्युतीय सूचना पाटी (डिस्प्ले बोर्ड) मार्फत सार्वजनिक गर्ने र शय्या उपलब्ध भएपछि मोबाइलमा एसएमएस पठाउने प्रणाली सञ्चालनमा ल्याएको हो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेका अनुसार पछिल्लो समय दैनिक तीन हजारभन्दा बढी बिरामी उपचारका लागि आउन थालेपछि पुरानो प्रणालीबाट मात्र सेवा व्यवस्थापन गर्न कठिन भएको थियो। त्यसलाई सहज बनाउन प्रविधिको प्रयोग बढाइएको उहाँले बताउनुभयो।

“दैनिक बिरामीको चाप बढ्दै गएको छ। जनशक्तिमात्रै प्रयोग गरेर सेवा व्यवस्थापन गर्न चुनौती भएपछि प्रविधिको प्रयोग सुरु गरेका हौँ,” डा. बगालेले भन्नुभयो। उहाँका अनुसार हाल क्यूआरबाट टिकट काट्ने एउटा मेसिन सञ्चालनमा ल्याइएको छ भने आवश्यकता अनुसार थप मेसिन विस्तार गरिनेछ। भरतपुर अस्पतालमा अहिले दैनिक करिब तीन हजार चार सय बिरामीले ओपीडी टिकट लिने गरेका छन्। अत्यधिक चापका कारण सेवा व्यवस्थापन चुनौतीपूर्ण बनेपछि अस्पतालले चिकित्सकको सेवा समयसमेत परिवर्तन गरेको छ।

यसअघि बिहान बिरामी हेरेर दिउँसो फर्किने अभ्यास रहे पनि अहिले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म निरन्तर ओपीडी सेवा सञ्चालन गरिएको अस्पतालले जनाएको छ। यसबाट बिरामीले एकै दिनमा चिकित्सकको परामर्श, प्रयोगशाला परीक्षण, रिपोर्ट प्राप्त गरी पुनः चिकित्सकबाट उपचार सल्लाह लिन सक्ने अवस्था बनेको अस्पतालको दाबी छ।

रौतहटको चन्द्रनिगाहपुरबाट उपचारका लागि आउनुभएकी विमला भट्टराईले नयाँ व्यवस्थाले उपचार प्रक्रिया सहज भएको बताउनुभयो। “एकै दिनमा परीक्षण र उपचार पूरा हुन्छ भन्ने अपेक्षा थिएन, तर अहिले निकै सहज भएको छ,” उहाँले प्रतिक्रिया दिनुभयो।

यसैबीच, अस्पतालले आइसियु सेवामा पारदर्शिता र सहज पहुँच सुनिश्चित गर्न नयाँ प्रतीक्षा व्यवस्थापन प्रणाली पनि लागू गरेको छ। अब आइसियुमा भर्नाका लागि प्रतीक्षारत बिरामीको विवरण विद्युतीय सूचना पाटीमा देखाइनेछ भने शय्या उपलब्ध भएपछि सम्बन्धित बिरामी वा आफन्तलाई मोबाइलमार्फत जानकारी गराइनेछ।

भरतपुर अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाले आइसियुजस्तो संवेदनशील सेवामा प्राथमिकता र पारदर्शिता कायम गर्न नयाँ प्रणाली सुरु गरिएको बताउनुभयो। आकस्मिक सेवा काउन्टरबाट आइसियु भर्नाका लागि आवश्यक विवरण प्रविष्ट गरिने र चिकित्सकीय प्राथमिकताका आधारमा सेवा उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो।

छ सय शय्याको भरतपुर अस्पतालमा हाल वयस्कतर्फ पुरानो एमआइसियु र एआइसियुमा १८, नयाँ आइसियु तथा सिसियुमा १८ र बर्न वार्डमा दुई गरी कुल ३८ आइसियु शय्या सञ्चालनमा छन्। बालबालिका तथा नवजात शिशुका लागि थप ३५ आइसियु शय्या उपलब्ध छन् भने आकस्मिक विभागमा ५० शय्या सञ्चालनमा रहेका छन्।

अस्पतालले बिरामीको चापलाई ध्यानमा राख्दै बिलिङ तथा शुल्क तिर्ने काउन्टरको संख्या पनि थप विस्तार गर्ने तयारी गरेको जनाएको छ। प्रविधिमार्फत सेवा छिटो, पारदर्शी र सहज बनाउने लक्ष्यसहित नयाँ प्रणालीलाई थप प्रभावकारी बनाउँदै लैजाने अस्पतालको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट