काठमाडाैँ : मेटा कम्पनीको प्रमुख एक प्लेटफर्म फेसबुक म्यासेन्जरमा आज प्राविधिक समस्या देखिएको छ। नेपालसहित विश्वका विभिन्न देशका हजारौँ प्रयोगकर्ताहरूले सन्देश आदानप्रदान गर्न समस्या भइरहेको भन्दै रिपोर्ट गरेका छन्।
इन्टरनेट सेवामा आउने अवरोधहरूको निगरानी गर्ने वेबसाइट 'डाउनडिटेक्टर'का अनुसार, फेसबुकमा समस्या देखिएको उजुरीहरूमा एकाएक वृद्धि भएको थियो। त्यसको केही समयपछि म्यासेन्जरमा पनि सन्देश पठाउन र प्राप्त गर्न नसकिएको भन्दै बेलायत र अन्य क्षेत्रबाट प्रयोगकर्ताहरूले गुनासो गर्न थालेका थिए।
डाउनडिटेक्टरका अनुसार म्यासेन्जरमा तीव्र रूपमा रिपोर्ट बढेको छ। यसैगरी फेसबुक प्रयोगकर्ताहरूले मुख्यतया आफ्नो अकाउन्ट लग-इन नहुने, न्युज फिड रिफ्रेस नहुने र मोबाइल एप लोड नहुने जस्ता समस्याहरू भोग्नुपरेको समेत बताएका छन्। त्यस्तै, म्यासेन्जर प्रयोगकर्ताहरूले सन्देश पठाउँदा वा प्राप्त गर्दा कनेक्सन इरर आउने र च्याट लिस्ट लोड नहुने समस्याका कारण सञ्चारमा अवरोध पुगेको गुनासो गरेका छन्। यस्तै मेटाकै अर्को प्लेटफम इस्टाग्राममा पनि यो समस्या देखिएको छ ।
यस अवरोधका बारेमा फेसबुकको मातृ कम्पनी मेटाले हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन। कम्पनीले यो समस्या सर्भरको कारणले आएको हो वा नियमित मर्मतसम्भारको क्रममा भएको प्राविधिक त्रुटि हो भन्नेबारेमा स्पष्ट पारेको छैन। यद्यपि, यो समस्या विश्वव्यापी रूपमा सबै प्रयोगकर्तालाई नभई केही निश्चित क्षेत्रका प्रयोगकर्ताहरूलाई मात्र बढी प्रभाव पारेको देखिएको छ।
फेसबुक र म्यासेन्जरमा समस्या देखिएपछि धेरै प्रयोगकर्ताहरूले अन्य सामाजिक सञ्जाल प्लेटफर्महरूमार्फत आफ्नो असन्तुष्टि व्यक्त गरिरहेका छन्। केही दिनअघि पनि फेसबुकमा समस्या देखिएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij