काठमाडौं : इरानी राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिका र इजरायलसँगको जारी तनावबीच देशलाई न युद्ध, न शान्तिको अनिश्चित अवस्थाबाट बाहिर निकाल्नुपर्ने बताएका छन् । ओमानको मध्यस्थतामा भइरहेको वार्ताप्रति आशावादी देखिँदै उनले होर्मुज स्ट्रेटको विवाद सुल्झाउन र युद्धविराम उल्लङ्घनका घटनाहरू रोक्न कूटनीतिक प्रयास नै उत्तम विकल्प भएको बताएका छन् ।
इरानी सञ्चारमाध्यमहरूसँग कुरा गर्दै राष्ट्रपति पेजेस्कियानले भने, ‘देशमा अहिले एकता र शक्ति छ र मेरो विचारमा इरान यो युद्धमा विजयी र शक्तिशालीका रूपमा उभिएको छ । तर, हामी यो अनिश्चित स्थितिबाट बाहिर निस्कन चाहन्छौँ । ओमानमा भइरहेको वार्ताबाट चाँडै एउटा निष्कर्षमा पुग्ने विश्वास छ ।’
होर्मुज स्ट्रेट खोल्न इरानका ६ कडा सर्त
ओमानको मध्यस्थतामा इरान र पश्चिमा राष्ट्रहरूबीच होर्मुज स्ट्रेटमा व्यापारिक जहाजहरूको सुरक्षित आवतजावतका लागि ‘मध्यम कोरिडोर’ वा अस्थायी मार्ग बनाउने विषयमा सहमति नजिक पुगेको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले नयाँ मार्गको भौगोलिक सीमांकन अन्तिम चरणमा पुगेको पुष्टि गरेका छन् ।
यद्यपि, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद र इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले स्ट्रेट पूर्ण रूपमा खोल्नका लागि अमेरिकाअगाडि ६ वटा पूर्वसर्तहरू राखेका छन्:
१. इरान र उसका ’पवित्र मूल्य मान्यता’ विरुद्धका धम्की अन्त्य हुनुपर्ने ।
२. इरान र उसका क्षेत्रीय सहयोगीहरूविरुद्धका सैन्य कारबाही स्थायी रूपमा रोकिनुपर्ने ।
३. इरानको समुद्री नाकाबन्दीमा संलग्न अमेरिकी नौसेना र वायुसेना फिर्ता हुनुपर्ने ।
४. हालैको द्वन्द्वमा भएको क्षतिको अमेरिकी सरकारले क्षतिपूर्ति दिनुपर्ने ।
५. इरानमाथि लगाइएका आर्थिक प्रतिबन्धहरू फुकुवा गर्नुपर्ने ।
६. अमेरिकाले रोक्का गरेर राखेको इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने ।
अमेरिकाको दाबी र पेन्टागनको नयाँ रणनीति
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले फक्स न्युजलाई दिएको अन्तर्वार्तामा अमेरिकी सैन्य कारबाहीका कारण इरानको आणविक कार्यक्रम र परम्परागत सैन्य क्षमता ध्वस्त भएको दाबी गरेका छन् । उनले भनेका छन्, ‘हामी इरानले अमेरिकासँगको सम्बन्ध सुधार्न दीर्घकालीन परिवर्तन गर्छ कि गर्दैन भनेर हेर्दैछौँ । यदि गर्दैन भने पनि हामी दबाब कायम राख्नेछौँ र मध्यपूर्वबाट इन्धन आपूर्ति सहज बनाएर अमेरिकीहरूलाई सस्तो ऊर्जा उपलब्ध गराउनेछौँ ।’
अर्कोतर्फ, युद्ध लम्बिएपछि हतियारको भण्डार र लागतलाई ध्यानमा राख्दै पेन्टागनले आफ्नो रक्षा रणनीतिमा व्यापक फेरबदल गर्न थालेको छ । अमेरिकी रक्षा नवप्रवर्तन एकाइ (डीआईयू) का उपनिर्देशक ज्यारेड कन्लेले पेन्टागनसँग पर्याप्त हतियार रहेको दाबी गर्दै अब कम लागतका र स्वचालित हतियार प्रणाली निर्माणमा जोड दिइने बताएका छन् ।
युएईको ट्याङ्करमाथि आक्रमण र साउदीको अरामकोमा आगलागी
होर्मुज स्ट्रेटमा संयुक्त अरब इमिरेट्सको सरकारी कम्पनी ‘एडनोक’ द्वारा सञ्चालित एक आयल ट्याङ्करमाथि आक्रमण भएको छ । युएईले उक्त आक्रमणको दोष इरानमाथि लगाएको छ । यस आक्रमणको साउदी अरब, बहराइन, कतार, जोर्डन, सिरिया र यमनको आधिकारिक सरकारले कडा शब्दमा निन्दा गरेका छन् । साउदी वैदेशिक मन्त्रालयले इरानको यस्तो कदमले विश्वव्यापी ऊर्जा सुरक्षामाथि सिधै हमला गरेको बताएको छ ।
यसैबीच, साउदी अरबको जिजानस्थित ‘साउदी अरामको’ रिफाइनरीमा आइतबार बिहान भीषण आगलागी भएको छ । दमकलकर्मीहरूले आगो नियन्त्रणमा लिएको र कुनै मानवीय क्षति नभएको साउदी ऊर्जा मन्त्रालयले जनाएको छ । यमनका हुथी विद्रोहीहरूले यसअघि पनि उक्त रिफाइनरीमा आक्रमण गर्दै आएका थिए ।
इराकी मिलिसियाको बदलाको चेतावनी र ‘मक्का रक्षा सम्झौता’
इराकको इरान समर्थित ‘हरकात हज्बुल्लाह अल–नुजाबा’ मिलिसियाका प्रमुख अक्रम अल–काबीले गत महिना साउदी र अमेरिकी संयुक्त हवाई हमलामा मारिएका आफ्ना २० भन्दा बढी लडाकुहरूको बदला लिने चेतावनी दिएका छन् ।साउदी अरबसँगको कूटनीति व्यर्थ रहेको भन्दै उनले मिसाइलको जवाफ मिसाइल र आगोको जवाफ आगोले नै दिइने बताए । उता, साउदी अरब, टर्की र पाकिस्तानबीच मक्कामा भएको ऐतिहासिक त्रिपक्षीय रक्षा सम्झौतामा आगामी चरणमा इजिप्ट पनि सामेल हुन सक्ने टर्कीका विदेशमन्त्री हाकन फिदानले बताएका छन् । उनले यो सम्झौता पूर्णरूपमा रक्षात्मक रहेको र यसको उद्देश्य इरानलाई निसाना बनाउनु नरहेको स्पष्ट पारे ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij