Logo

Aug 20 2026 | २०८३, भाद्र ४गते

धर्नारत बैंक, लघुवित्त तथा मिटरब्याजीपीडितको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न आयोगको आग्रह

धर्नारत बैंक, लघुवित्त तथा मिटरब्याजीपीडितको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न आयोगको आग्रह

काठमाडौँ : राष्ट्रिय मानवअधिकार आयोगले पाँच दिनदेखि धर्नामा रहेका बैंक, लघुवित्त, सहकारी, मिटरब्याजी प्रभावित तथा भूमिहीन सुकुम्बासीको स्वास्थोपचार, बसोबास र शान्ति सुरक्षाको उचित व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।विभिन्न माग राखेर पाँच दिनदेखि ललितपुरको पुल्चोकस्थित मानवअधिकार आयोगको कार्यालय अगाडि धर्ना बसेकाहरूको माग तत्काल समाधान गर्न सरकारसँग आयोगले आग्रह गरेको हो।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा धर्नामा बसेका महिला, बालबालिका, अशक्त र जेष्ठ नागरिकको स्वास्थमा समस्या आउन सक्ने भएकाले तत्काल माग पूरा गर्न भनिएको छ। आयोगले निरन्तर अनुगमन गर्नुका साथै समस्यालाई नजिकबाट नियालिरहेको जनाएकोे छ । विज्ञप्तिमा भनिएको छ, ‘धर्नामा बसेकाहरुको सुरक्षामा समेत प्रतिकूल प्रभाव पर्न सक्ने हुँदा प्रदर्शनरतको सुरक्षार्थ निजहरुलाई उचित स्थानमा स्थानान्तर गर्न र निजहरुको स्वास्थोपचार, बसोबास र शान्ति सुरक्षाको उचित व्यवस्था मिलाउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ।’

समस्या समाधानका लागि नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपालको तर्फबाट वार्ता टोली गठन भएकामा आयोगले यसलाई सकारात्मक रूपमा लिएको जनाएको छ । साथै, हरेक समस्याको समाधान वार्ता र संवादबाटै सम्भव भएकाले दुवैतर्फका समितिले वार्तालाई निरन्तरता दिएर समस्याको समाधान निकाल्नसमेत आयोगले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट