Logo

Aug 23 2026 | २०८३, भाद्र ७गते

सौराहामा बढ्दै चिनियाँ पर्यटक, पर्यटन व्यवसायमा उत्साह

सौराहामा बढ्दै चिनियाँ पर्यटक, पर्यटन व्यवसायमा उत्साह

 चितवन : पर्यटकीय सिजनको तुलनामा अपसिजन मानिने समयमा समेत चिनियाँ पर्यटकको आगमन बढेपछि चितवनको सौराहामा पर्यटन व्यवसायी उत्साहित भएका छन्। विदेशी पर्यटकको चहलपहल बढेसँगै होटल, रेस्टुराँ, जंगल सफारी तथा अन्य पर्यटन व्यवसायमा समेत सकारात्मक प्रभाव परेको व्यवसायीहरूको भनाइ छ।

बाघमारा मध्यवर्ती सामुदायिक वनका कोषाध्यक्ष ध्रुव खनालले अपसिजनमा समेत चिनियाँ पर्यटकको उपस्थिति बढ्नु सौराहाको पर्यटनका लागि सकारात्मक संकेत भएको बताउनुभयो। पर्यटकको आगमनले होटल तथा पर्यटन व्यवसायलाई चलायमान बनाउन सहयोग पुगेको उहाँको भनाइ छ। क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष दीपक भट्टराईले चिनियाँ तथा भारतीय पर्यटकको आगमन बढेपछि व्यवसायीमा उत्साह थपिएको बताउनुभयो। उहाँका अनुसार पर्यटकको सङ्ख्या निरन्तर बढ्दै गएमा नयाँ लगानी र रोजगारीका अवसरसमेत सिर्जना हुनेछन्।

यता, सौराहा घुम्न आएका चिनियाँ पर्यटकले पनि यहाँको प्राकृतिक सौन्दर्य, वन्यजन्तु र स्थानीय आतिथ्यबाट आफूहरू खुसी भएको बताएका छन्। चीनबाट आएका एक पर्यटकले सौराहाको वातावरण शान्त र रमणीय रहेको भन्दै जंगल सफारी तथा वन्यजन्तु अवलोकनको अनुभव निकै रोचक लागेको बताए। “यहाँको प्रकृति र वन्यजन्तु निकै आकर्षक छन्। होटलको सेवा र नेपालीहरूको आतिथ्य पनि राम्रो लाग्यो,” उनले भने।

सौराहामा साना–ठूला गरी करिब १४१ होटल छन् भने एकैपटक ६ हजार ४२६ पर्यटकलाई आवास सुविधा दिन सक्ने क्षमता रहेको व्यवसायीहरू बताउँछन्। चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वनमा एकसिङ्गे गैँडा, पाटेबाघलगायत वन्यजन्तु अवलोकन गर्न पर्यटक आउने गरेका छन्। जंगल सफारी, डुङ्गा सयर र पदयात्रा उनीहरूको प्रमुख आकर्षण बनेका छन्।

चिनियाँ पर्यटकको बढ्दो आगमनले सौराहाको पर्यटन बजारमा नयाँ सम्भावना थपिएको व्यवसायीहरूको विश्वास छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij