Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

टप एन्ड टी–ट्वान्टीमा नेपाल ‘ए’को पहिलो जित

टप एन्ड टी–ट्वान्टीमा नेपाल ‘ए’को पहिलो जित

काठमाडौं : अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिज २०२६ मा नेपाल ‘ए’ले पहिलो जित निकालेको छ। नेपाल ‘ए’ले होबार्ट हुरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा जितको खाता खोलेको हो।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको होबार्ट हुरिकेन्स एकेडेमी नेपाली बलरसामु टिक्न नसक्दा १८.३ ओभरमा ११५ रनमै अलआउट भयो।

नेपालले होबार्टसामु १५५ रनको लक्ष्य प्रस्तुत गरेको थियो।नेपालको ब्याटिङमा कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए। उनले ३४ बलमा ६ चौका प्रहार गरे। मयान यादवले २५ बलमा ३१ रन तथा कप्तान अनिल साहले २१ बलमा २८ रन जोडे। लोकेश बमले १६ बलमा अविजित २० रन बनाए।

बलिङतर्फ नारायण जोशीले ३ विकेट लिए। उनले २ ओभरमा मात्र ८ रन खर्चिए। शाहब आलम र पवन सर्राफले समान २–२ विकेट लिए भने बिपिन खत्रीले १ विकेट लिए।

होबार्टका लागि निटेस सामुएलले सर्वाधिक ३७ रन बनाए। टिम वार्डले २३ तथा निभेथन राधाकृष्णनले २० रन जोडे पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन्।

यो प्रतियोगितामा नेपाल ‘ए’को तेस्रो खेलमा पहिलो जित हो। यसअघि नेपालले खेलेका दुवै खेलमा फराकिलो हार बेहोरेको थियो।

नेपालले प्रतियोगिताको पहिलो खेलमा एनटी स्ट्राइकसँग ८ विकेटले हार बेहोरेको थियो। उक्त खेलमा नेपालले पहिले ब्याटिङ गर्दै १२३ रनको लक्ष्य दिएको थियो, जुन एनटी स्ट्राइकले ८ विकेट गुमाएर पूरा गरेको थियो।

त्यसपछि दोस्रो खेलमा नेपाल ‘ए’ बंगलादेश ‘ए’ टोलीसँग ९ विकेटले पराजित भएको थियो। 

तर तेस्रो खेलमा भने नेपालले ब्याटिङ र बलिङ दुवैमा सुधारिएको प्रदर्शन गर्दै होबार्ट हुरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गरेको हो। तीन खेलबाट नेपाल ‘ए’को खातामा अब एक जित र दुई हार रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij