Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

नेपालमा एसआरएमका १,१११ ईभी बिक्री, १० हजार पुर्‍याउने भिजी मोटर्सको लक्ष्य

नेपालमा एसआरएमका १,१११ ईभी बिक्री, १० हजार पुर्‍याउने भिजी मोटर्सको लक्ष्य

काठमाडौँ:  भिजी मोटर्सले नेपालमा एसआरएम ब्रान्डका १ हजार १११ वटा विद्युतीय सवारी (ईभी) बिक्री गरेको छ। कम्पनीले अब नेपाली सडकमा १० हजार एसआरएम ईभी पुर्‍याउने लक्ष्य तय गरेको छ।

एसआरएमको आधिकारिक आयातकर्ता तथा वितरक भिजी मोटर्सले सन् २०२३ अगस्टदेखि नेपालमा एसआरएम ईभीको बिक्री सुरु गरेको थियो। १,१११ थान बिक्रीको उपलब्धिपछि कम्पनीले बिक्रीपछिको सेवा, चार्जिङ पूर्वाधार र ग्राहक सेवामा थप लगानी गर्ने जनाएको छ।


कम्पनीका अनुसार नेपालमा एसआरएमका ३० भन्दा बढी सर्भिस टचपोइन्ट तथा वर्कसप सञ्चालनमा छन्। त्यस्तै, १०० भन्दा बढी चार्जिङ स्टेसन स्थापना भइसकेका छन्। ४० जिल्लाका १ हजार ५०० भन्दा बढी मेकानिक तथा ५० भन्दा बढी ड्राइभिङ इन्स्टिच्युटका प्रशिक्षकलाई ईभी प्रविधि र सडक सुरक्षासम्बन्धी तालिम दिइएको कम्पनीले जनाएको छ।

नेपालको सडक अवस्थालाई ध्यानमा राखेर एसआरएमका विद्युतीय सवारीमा ग्राउन्ड क्लियरेन्स, मोटरको शक्ति र टर्क वृद्धि गरिएको कम्पनीको भनाइ छ। एसआरएमले सीएटीएलका ब्याट्री प्रयोग गर्दै आएको छ भने सर्तसहित ब्याट्रीमा ६ वर्ष वा ३ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराउँदै आएको छ।

कम्पनीले नेपालमा थप विस्तारका लागि दुईवटा विद्युतीय ट्रक र एउटा एमपीभी ल्याउने तयारीसमेत गरेको छ।

१,१११ थान बिक्रीको अवसरमा आयोजित कार्यक्रममा महत्वपूर्ण ग्राहक तथा साझेदारलाई सम्मान गरिएको थियो। हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजलाई १,०००औँ एसआरएम खरिदकर्ता, युरो स्कुल छाउनीलाई सबैभन्दा धेरै एसआरएम ईभी खरिद गर्ने संस्था र डिस्कभरी एजुकेसन नेटवर्क काठमाडौंलाई ‘एसआरएम पायोनियर अवार्ड’ प्रदान गरिएको थियो।

भिजी मोटर्सले चार्जिङ पूर्वाधार, सर्भिस सुविधा, प्राविधिक तालिम, स्पेयर पार्ट्स तथा ग्राहक सेवामा थप लगानी गर्दै नेपालभर विद्युतीय व्यावसायिक सवारीको प्रयोग विस्तार गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij