चितवन : आर्थिक ऐन २०८३ ले दिएको कर छुट सुविधाको लाभ चितवनका २ हजार ९०६ फर्मले लिएका छन्। लामो समयदेखि बाँकी रहेको आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्कको बक्यौता तथा थप एक प्रतिशत कर बुझाएपछि बाँकी ब्याज, जरिवाना र विलम्ब शुल्क मिनाहा हुने व्यवस्थाअनुसार करदाताले सुविधा लिएका हुन्।
आन्तरिक राजस्व कार्यालय चितवनका प्रमुख पुण्यविक्रम खड्काका अनुसार आर्थिक ऐन जारी भएपछि बक्यौता भुक्तानी गर्ने क्रम बढेसँगै जिल्लाको राजस्व संकलनमा समेत उल्लेख्य वृद्धि भएको छ। लामो समयदेखि कर बक्यौता रहेर व्यवसाय सञ्चालनमा समस्या भोगिरहेका करदातालाई सरकारले एक पटकका लागि दिएको अवसरको सदुपयोग गर्न उनले आग्रह गरेका छन्।
आयकरतर्फ प्यान नलिई कारोबार गर्ने सात फर्म र प्यान लिएर हालसम्म कारोबार नगरेका २६६ फर्मले छुट सुविधा लिएका छन्। आयकरको ब्याज तथा जरिवाना छुटतर्फ कार्यालयमार्फत ३२६ र अनलाइन प्रणालीबाट १ हजार ९६४ फर्मले सुविधा लिएका छन्।
मूल्य अभिवृद्धि करतर्फ कर संकलन नगरेका तथा विवरण दाखिला नगरेका ४४ र कर संकलन गरे पनि विवरण नबुझाएका ३८ फर्मले छुट सुविधा लिएका छन्। अन्तःशुल्कतर्फ कारोबार तथा विवरणसम्बन्धी बक्यौता भएका ६ र इजाजत नवीकरण नगरेका २१६ फर्मले सुविधा लिएका छन्।
यस्तै, आयकर, भ्याट र अन्तःशुल्कतर्फ विवरण पेस गरेर कर नबुझाएका २३, कर निर्धारणबाट सिर्जित बक्यौता दाखिला गर्ने ११ तथा विचाराधीन मुद्दा फिर्ता लिएर कर दाखिला गर्ने दुई फर्मले पनि छुट सुविधा लिएका छन्।
चितवनमा हाल आयकरतर्फ ७४ हजार ३६६ करदाता दर्ता छन्। तीमध्ये ११ हजार ३४५ भ्याट र ४ हजार ९६१ अन्तःशुल्कमा दर्ता भएका छन्। भ्याटतर्फ सबै महिनाको विवरण नबुझाउने करदाताको संख्या ५५ प्रतिशत रहेको कार्यालयले जनाएको छ भने आयकरतर्फ आर्थिक वर्ष २०८१/८२ सम्म ३३ प्रतिशत करदाताले विवरण बुझाउन बाँकी छ।
आर्थिक ऐन २०८३ अन्तर्गत जेठ १५ देखि भदौ ५ गतेसम्म आयकरतर्फ २ हजार ५६३ करदाताले विवरण बुझाएर कर दाखिला गरेका छन्। भ्याटतर्फ ८२ र अन्तःशुल्कतर्फ २२२ करदाताले विवरणसहित कर तथा दस्तुर दाखिला गरिसकेका छन्।
कर छुट सुविधासँगै चितवनको राजस्व संकलनसमेत बढेको छ। गत आर्थिक वर्ष २०८२/८३ को साउनमा १ अर्ब ५३ करोड ३९ लाख १० हजार रुपैयाँ राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षको साउनमा १ अर्ब ८१ करोड ५५ लाख ५८ हजार रुपैयाँ संकलन भएको छ।
यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८ करोड १६ लाख ४८ हजार रुपैयाँ बढी हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij