Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

रत्ननगरमा पशुचौपायामा रेबिज पुष्टि, न्याउरी मुसा र स्यालको टोकाइबाट संक्रमण भएको आशंका

रत्ननगरमा पशुचौपायामा रेबिज पुष्टि, न्याउरी मुसा र स्यालको टोकाइबाट संक्रमण भएको आशंका

चितवन : पूर्वी चितवनको रत्ननगरमा पालिएका पशुचौपायामा रेबिज संक्रमण पुष्टि भएपछि प्रभावित क्षेत्रमा खोप अभियान सुरु गरिएको छ । रत्ननगर नगरपालिका–९ र १० मा संकलन गरिएका नमूनाको परीक्षण गर्दा रेबिज संक्रमण पुष्टि भएको हो ।

पशु सेवा कार्यालयका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार जर्सी गाईमा रेबिज संक्रमण पुष्टि भएको हो । रेबिज लागेका पशुमा अत्यधिक ¥याल काढ्ने, टाउको भित्तामा ठोक्ने, मानिस तथा अन्य जनावरलाई टोक्न खोज्ने, पानी र घाँस खान नमान्ने, दूध उत्पादन घट्ने तथा अन्ततः मृत्यु हुनेजस्ता लक्षण देखिने गर्छन् ।

कुकुर र बिरालोलाई नियमित रूपमा रेबिजविरुद्धको खोप लगाउने गरिए पनि अन्य पशुचौपायामा भने नियमित खोप लगाउने अभ्यास कम रहेको डा. न्यौपानेले बताए । संक्रमण पुष्टि भएपछि प्रभावित क्षेत्रमा रहेका पशुचौपायालाई रेबिजविरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

रत्ननगर नगरपालिकाकी पशु चिकित्सक अनुस्का राजभण्डारीका अनुसार नगरपालिकाका विभिन्न वडामा पालिएका पशुमा रेबिजको लक्षण देखिएको छ । पशुहरूको नमूना संकलन गरी परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, काठमाडौं पठाइएको छ ।

उनका अनुसार चालु आर्थिक वर्षमा रत्ननगरबाट चार वटा नमूना संकलन गरिएको छ । तीमध्ये दुई वटा नमूनामा रेबिज संक्रमण पुष्टि भएको छ भने थप दुई नमूना परीक्षणका लागि पठाउने तयारी भइरहेको छ । सामान्यतया पशु मरेपछि नमूना संकलन गरी परीक्षण गर्ने गरिएको उनले जानकारी दिइन् ।

रेबिज संक्रमण देखिएका रत्ननगरका वडा नम्बर ९, १० र १६ मा उच्च सतर्कता अपनाइएको छ । राजभण्डारीका अनुसार न्याउरी मुसा र स्यालको टोकाइबाट पशुमा रेबिज सरेको हुन सक्ने अनुमान गरिएको छ । संक्रमण प्रभावित क्षेत्रमा रहेका पशु तथा मानिसलाई समेत रेबिजविरुद्धको खोप लगाउन थालिएको छ ।

रेबिज लाइसा भाइरसका कारण लाग्ने घातक रोग हो । मुख्यगरी संक्रमित कुकुर तथा जंगली जनावरको टोकाइ वा चिथोराइबाट यो रोग सर्ने गर्छ । संक्रमणको लक्षण देखिएपछि पशु करिब नौदेखि १० दिनभित्र मर्ने गरेको पशु चिकित्सक राजभण्डारीले बताइन् ।

उनले विशेषगरी जंगल आसपासका क्षेत्रमा रहेका कृषकलाई पशुमा असामान्य व्यवहार वा रेबिजको लक्षण देखिए तत्काल सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरेकी छन् ।

संक्रमित वा शंकास्पद जनावरले टोके वा चिथोरेमा घाउलाई तुरुन्तै कम्तीमा १५ मिनेटसम्म साबुन र बगिरहेको सफा पानीले राम्ररी धुनुपर्ने चिकित्सकको सुझाव छ । त्यसपछि चिकित्सकको सल्लाहअनुसार तोकिएको तालिकामा रेबिजविरुद्धको खोप लगाउनुपर्ने बताइएको छ ।

घरपालुवा कुकुर तथा बिरालोलाई हरेक वर्ष रेबिजविरुद्धको खोप लगाउन, शंकास्पद व्यवहार देखाउने पशुलाई मानिस तथा अन्य जनावरबाट अलग्गै सुरक्षित स्थानमा राख्न र तत्काल सम्बन्धित पशु स्वास्थ्य निकायलाई जानकारी गराउन पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट