बैतडी : बैतडीमा किशोरी आमाको संख्या बढ्दैगएको पाइएको छ । स्वास्थ्य कार्यालय बैतडीको तीन वर्षको तथ्याङ्कअनुसार २० वर्ष नपुग्दै आमा बन्ने किशोरीको संख्या हरेक वर्ष बढिरहेको देखिएको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीका अनुसार तीन वर्षको अवधिमा बैतडीका विभिन्न स्वास्थ्य संस्थाबाट ७५२ जना किशोरीले सुरक्षित प्रसूति सेवा लिएका छन् । आर्थिक वर्ष २०८०/८१ मा २० वर्ष नपुग्दै २२१ किशोरीले सुरक्षित प्रसूति सेवा लिएका थिए । ०८१/८२ मा गएर त्यो संख्या बढेर २५८ पुगेको तथ्यांकले देखाएको छ ।
यस्तै, आर्थिक वर्ष ०८२/८३ मा थप वृद्धि भई २७३ किशोरी आमाले प्रसूति सेवा लिएको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ । यो तथ्यांकले बैतडीमा बालविवाह गर्ने दर पनि बढिरहेको देखाउने जानकारहरू बताउँछन् । बालविवाह न्यूनीकरणका लागि विभिन्न प्रयास भइरहेपनि जिल्लामा अपेक्षित उपलब्धि हासिल हुन नसकेको यो तथ्यांकले देखाएको छ ।
नेपालको कानुनले २० वर्षभन्दा कम उमेरमा हुने विवाहलाई बालविवाहका रूपमा परिभाषित गरेको छ । बालविवाह न्यूनीकरणका लागि बहुपक्षीय प्रयास आवश्यक रहेको बालविवाह न्यूनीकरणका क्षेत्रमा काम गरिरहेकी अभियन्ता कुन्ती भट्टले बताइन् । ‘बालविवाह कुनै एक पक्षको प्रयासले मात्रै रोक्न सकिँदैन, यसका लागि बहुपक्षीय प्रयास आवश्यक छ,’ उनले भनिन् ।
पछिल्लो समय बालविवाहको स्वरूपसमेत परिवर्तन भएको भट्ट बताउँछिन् । उनले मागी विवाहको तुलनामा भागी विवाहका कारण हुने बालविवाह बढ्दै गएको बताइन् । नेपालले सन् २०३० भित्र बालविवाह अन्त्य गर्ने नीति लिएको छ । तर, ग्रामीण क्षेत्रमा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुन नसक्दा बालविवाहको समस्या कायमै रहेको सरोकारवालाको भनाइ छ ।
२० वर्षभन्दा कम उमेरमा शारीरिक तथा मानसिक परिपक्वता पूर्ण नहुने भएकाले कम उमेरमै गर्भधारण र प्रसूति गराउँदा आमा र बच्चा दुवैमा स्वास्थ्य जोखिम बढ्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए । ‘कम उमेरमा बच्चा जन्माउँदा कुपोषण, कम तौलको बच्चा जन्मिने, रक्तअल्पतालगायतका जोखिम निम्तिने गर्छन्,’ उनले भने । सरकारले बालविवाह रोक्न कानुनी व्यवस्था गरेपनि ग्रामीण क्षेत्रमा यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा बैतडीमा किशोरी आमाको संख्या बढ्दै गएको देखिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij