Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

चितवन उद्योग वाणिज्य संघद्वारा बाढीमा परेकाको  तत्काल उद्धार र राहतको माग

चितवन उद्योग वाणिज्य संघद्वारा बाढीमा परेकाको  तत्काल उद्धार र राहतको माग

चितवन  : नेपाल–चीन सीमा क्षेत्र रसुवाको केरुङ–टिमुरे आसपासमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङलगायतका क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति चितवन उद्योग वाणिज्य संघले दुःख व्यक्त गरेको छ ।

संघले बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता तथा प्रभावित नागरिकको तत्काल सुरक्षित उद्धार गर्न संघले सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

विनाशकारी बाढीका कारण नदी तथा तटीय क्षेत्रमा ठूलो क्षति पुगेको, सयौँ नागरिक बेपत्ता भएको तथा घर–भवन, सडक, पुल, विद्युत् संरचना र कृषियोग्य जमिनमा गम्भीर क्षति पुगेको संघले जनाएको छ ।

विशेषगरी रसुवाको भन्सार तथा व्यापारिक क्षेत्रमा रहेका करोडौँ–अरबौँ रुपैयाँ मूल्यका कन्टेनर, मालसामान तथा व्यावसायिक संरचना बाढीले बगाउँदा निजी क्षेत्रसँगै समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत गम्भीर असर परेको संघको भनाइ छ ।

संघले प्रभावित नागरिक, उद्योगी तथा व्यवसायीका लागि तत्काल राहत, उद्धार, पुनःस्थापना तथा क्षतिपूर्तिका कार्यक्रम अघि बढाउन सरकारसँग माग गरेको छ । गृह मन्त्रालय, सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित सबै निकायलाई उच्च प्राथमिकताका साथ खोज, उद्धार, राहत र पुनःस्थापनाका कार्य प्रभावकारी तथा समन्वयात्मक रूपमा अघि बढाउन संघले जोड दिएको छ ।

यसैबीच, बाढी तथा वर्षाका कारण अन्य नदी तथा तटीय क्षेत्रमा समेत जोखिम बढ्न सक्ने भएकाले सम्भावित जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन र स्थानीय प्रशासन तथा सुरक्षा निकायका सूचनाको पालना गर्न संघले आग्रह गरेको छ ।

विपद्को यस कठिन घडीमा प्रभावित नागरिक, उद्योगी–व्यवसायी तथा समुदायलाई सहयोग गर्न निजी क्षेत्र, व्यावसायिक संघ–संस्था तथा सरोकारवालालाई समेत आ–आफ्नो तर्फबाट सहयोग र सहकार्यमा जुट्न चितवन उद्योग वाणिज्य संघले अपिल गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट