चितवन : रसुवाको बाढीमा परी नारायणी नदीबाट संकलन गरिएका सयौँ शवको पोस्टमार्टम, पहिचान तथा जैविक नमुना संकलनमा कठिनाइ भएको भरतपुर अस्पतालले जनाएको छ।
अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार सीमित साधन–स्रोत र न्यून जनशक्तिबीच एकैपटक ठूलो संख्यामा शव आएपछि शव संरक्षण, पोस्टमार्टम, पहिचान र जैविक नमुना संकलन चुनौतीपूर्ण बनेको हो। चितवनको उच्च तापक्रम र आर्द्रताका कारण शव छिटो बिग्रँदा प्रक्रिया थप जटिल बनेको अस्पतालले जनाएको छ।
भदौ ११ गतेदेखि फरेन्सिक विज्ञको नेतृत्वमा दुई विशेषज्ञ टोली परिचालन गरी शव पहिचानको प्रक्रिया अघि बढाइएको थियो। त्यसपछि भदौ १२ गतेदेखि चारवटा फरेन्सिक टोली परिचालन गरिएका छन्। टोलीले शवको पहिचानसँगै डीएनए लगायतका जैविक नमुना संकलन गरिरहेको अस्पतालले जनाएको छ।
कामलाई थप तीव्रता दिन भदौ १३ गतेदेखि सातजना थप चिकित्सकको टोलीसमेत परिचालन गरिएको छ। भरतपुर अस्पतालले स्थानीय मेडिकल कलेजसहित भेरी अस्पताल, काठमाडौं र पाल्पाका मेडिकल कलेजसँग समन्वय गरी थप फरेन्सिक विज्ञको व्यवस्था गरेको जनाएको छ।
अस्पतालले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, जिल्ला प्रशासन, सुरक्षा निकाय, स्वयंसेवक तथा सञ्चारकर्मीसँग समन्वय गर्दै चिकित्सकीय मापदण्ड र फरेन्सिक विधिअनुसार शव पहिचान तथा व्यवस्थापनको काम अघि बढाइरहेको जनाएको छ। यसैबीच, शव व्यवस्थापनमा कठिनाइ भएपछि जिल्ला सुरक्षा समितिले निर्णय गरी पहिचान प्रक्रिया पूरा भएका तथा आवश्यक कानुनी प्रक्रिया मिलाइएका शवलाई सुरक्षित रूपमा गाड्ने तयारी थालेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij