Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

समयमै पीडितसम्म पुगोस् भनेर जनताले पैसा ओइर्याएका छन्, ढिलाइ नगरौँ: अर्थमन्त्री

समयमै पीडितसम्म पुगोस् भनेर जनताले पैसा ओइर्याएका छन्, ढिलाइ नगरौँ: अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम प्रभावित क्षेत्रमा तत्काल पठाउन निर्देशन दिएका छन् । आज आयोजित एक छलफल कार्यक्रममा अर्थमन्त्री वाग्लेले जनताले विश्वास गरेर जम्मा गरेको रकम समयमै पीडितसम्म पुर्‍याउन निर्देशन दिएका हुन्। अर्थमन्त्री वाग्लेले राहत रकम निकासा गर्ने क्रममा अनावश्यक प्रशासनिक प्रक्रिया बढाउँदा प्रभावित क्षेत्रमा पैसा पुग्न ढिलाइ भइरहेको बताए।

उनले स्थानीय तहलाई रकम पठाउने विषयमा विभिन्न निकाय हुँदै प्रक्रिया अघि बढाउने क्रममा अत्यधिक प्रशासनिकीकरण भएको भन्दै कानुन र कार्यविधिले मिल्ने विषयमा प्रक्रिया छोट्याएर तत्काल रकम पठाउनुपर्ने बताए।

'प्रभावित क्षेत्रका पालिकालाई रकम दिने कुरामा यो निकायबाट त्यो निकाय गर्दै धेरै प्रशासनिकीकरण हुँदा ढिलाइ भएको छ। हामीसँग कार्यविधि छ, संयन्त्र छ। कानूनले नमिल्ने गर्न मिलेन। मिल्ने कुरामा छिटो गरौँ,' उनले भने।

वाग्लेले प्रभावित क्षेत्रमा राहत नपुग्दा राहत कोषमा पैसा भए पनि पीडितले त्यसको अनुभूति गर्न नसकेको जनधारणा बनिरहेको बताए। सरकारसँग राहतका लागि स्रोत रहेको र आवश्यक रकम पठाउने संयन्त्रसमेत तयार रहेको उनले स्पष्ट पारे।

राहत कोषमा जनताले स्वेच्छाले सहयोग गरिरहेको उल्लेख गर्दै अर्थमन्त्रीले उनीहरूको विश्वास कायम राख्न रकम पारदर्शी र प्रभावकारी रूपमा प्रभावित क्षेत्रमा खर्च गर्नुपर्ने बताए।

‘सरकारले दुरुपयोग गर्दैन र हाम्रो पैसा सम्बन्धित ठाउँमा जान्छ भनेर पैसा ओइरिएको छ। त्यसैले यसमा ढिलाइ नगरौँ,’ उनले भने। उनले प्रभावित क्षेत्रमा तत्काल आवश्यक राहत, उद्धार तथा व्यवस्थापनका लागि रकमको अभाव हुन नदिने गरी काम गर्नुपर्ने बताए । अर्थमन्त्री वाग्लेले राहत रकम निकासाको विषयमा आजै आवश्यक काम अघि बढाउन मुख्य सचिवलाई निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट