एजेन्सी : अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ । अमेरिकी सेनाको सेन्ट्रल कमान्डले इरानका विभिन्न सैन्य तथा रणनीतिक पूर्वाधारलाई लक्षित गर्दै नयाँ चरणको भीषण हवाई आक्रमण गरेको जनाएको छ।
अमेरिकी कारबाहीमा इरानका हवाई रक्षा प्रणाली, राडार संयन्त्र, समुद्री पूर्वाधार, माइन बिछ्याउने क्षमता तथा सञ्चार केन्द्रहरूलाई मुख्य निशाना बनाइएको बताइएको छ । अमेरिकी आक्रमणको प्रतिकार गर्दै इरानले बहराइनस्थित शेख इसा एयर बेस तथा जोर्डनमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरेको छ।
जोर्डनको सेनाका अनुसार आफ्नो भूभागतर्फ प्रहार गरिएका १३ वटा इरानी ब्यालिस्टिक मिसाइलमध्ये १० वटालाई हावामै नष्ट गरिएको छ । त्यसैगरी, कुवेत र बहराइनमा पनि इरानी ड्रोन आक्रमण विफल पार्न हवाई रक्षा प्रणाली सक्रिय पारिएको बताइएको छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै सम्झौता गर्न आवश्यक नरहेको दाबी गरेका छन् । ट्रम्पका अनुसार सामरिक रूपमा अत्यन्त महत्त्वपूर्ण होर्मुज जलमार्गमाथि अमेरिकाले लगभग पूर्ण नियन्त्रण कायम गरिसकेको छ भने अमेरिकी सैन्य कारबाहीका कारण इरानको अर्थतन्त्र निरन्तर कमजोर बन्दै गएको छ।
ट्रम्पले इरानले अमेरिकाविरुद्ध थप प्रतिशोधात्मक कारबाही जारी राखेमा अहिलेसम्मकै ठूलो र विनाशकारी सैन्य कारबाहीको सामना गर्नुपर्ने चेतावनीसमेत दिएका छन् । अमेरिका र इरानबीच प्रत्यक्ष सैन्य कारबाही विस्तार हुँदै जाँदा खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडा तथा सहयोगी राष्ट्रहरूमा समेत सुरक्षा सतर्कता बढाइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij