कुरिनटार : इच्छाकामना गाउँपालिकामा सम्भावित विपद् जोखिमलाई ध्यानमा राख्दै पालिका स्तरीय विपद् व्यवस्थापन समितिले विभिन्न निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा बसेको समितिको बैठकले भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई लक्षित गर्दै महत्वपूर्ण निर्णयहरू गरेको हो।
बैठकले प्रभावित नागरिकलाई राहत तथा उद्दार कार्य प्रभावकारी बनाउन जनप्रतिनिधि, कर्मचारी तथा विपद् व्यवस्थापन कोषबाट रु. ११ लाख सहयोग गर्ने निर्णय गरेको छ। त्यस्तै, पालिका भित्रका बेपत्ता व्यक्तिको खोजतलास तथा उद्दार कार्यका लागि प्रति व्यक्ति रु.२५ हजार उपलब्ध गराउने निर्णय गरिएको छ।
यसैगरी, विपद्का कारण क्षति पुगेका सडक, पार्क, बस्ती, खानेपानी तथा कुलोहरू मर्मत–सम्भार गर्ने निर्णय पनि गरिएको छ। बैठकले भविष्यमा यस्ता घटनाबाट हुने क्षति न्यूनीकरणका लागि विपद् सचेतना कार्यक्रम सञ्चालन गर्ने र समुदायलाई पूर्वतयारीमा जोड दिने निर्णय गरेको जनाएको छ।
विपद् व्यवस्थापनमा सबै पक्षको सहकार्य आवश्यक रहेको भन्दै बैठकले शिक्षकहरूलाई सहयोगका लागि आह्वान गरेको छ। साथै, अन्य शिक्षक, विभिन्न संघसंस्था तथा सरोकारवालाहरूलाई समेत विपद् व्यवस्थापन तथा राहत कार्यमा सक्रिय सहभागिता जनाउन आग्रह गरिएको छ।
गाउँपालिकाले विपद् प्रभावित क्षेत्रमा तत्काल राहत, उद्दार तथा पुनःस्थापनाका कार्यलाई प्राथमिकतामा राख्दै समन्वयात्मक रूपमा अघि बढ्ने जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij