Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

कालिकामा एक वर्षमै ८१ जोडीको सम्बन्धविच्छेद, ४२२ जोडीले गरे विवाह दर्ता

कालिकामा एक वर्षमै ८१ जोडीको सम्बन्धविच्छेद, ४२२ जोडीले गरे विवाह दर्ता

कालिका : चितवनको कालिका नगरपालिकामा एक वर्षको अवधिमा ८१ जोडीले सम्बन्धविच्छेद गरेका छन्। नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा ८१ जोडीले सम्बन्धविच्छेद दर्ता गराएका हुन्।

सोही अवधिमा नगरपालिकाभरि ४२२ जोडीले विवाह दर्ता गराएका छन्। तथ्यांकअनुसार विवाह दर्ता गर्नेको संख्या सम्बन्धविच्छेद गर्नेको तुलनामा पाँच गुणाभन्दा बढी छ।

वडागत रूपमा हेर्दा सबैभन्दा धेरै सम्बन्धविच्छेद वडा नम्बर ७ मा दर्ता भएको छ। उक्त वडामा १४ जोडीले सम्बन्धविच्छेद गरेका छन्। त्यस्तै वडा नम्बर ३ मा १२, वडा नम्बर ८ मा ११, वडा नम्बर १ र ६ मा ९/९, वडा नम्बर ९ मा ७, वडा नम्बर ५ मा ६, वडा नम्बर २ मा ५, वडा नम्बर ४ मा ४, वडा नम्बर ११ मा ३ र वडा नम्बर १० मा एक जोडीले सम्बन्धविच्छेद दर्ता गराएका छन्।

सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख रामप्रसाद अधिकारीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद र बसाइँसराइ गरी कुल २ हजार १०२ वटा व्यक्तिगत घटना दर्ता भएका छन्।

त्यसमध्ये ९८९ जना बालबालिकाको जन्मदर्ता भएको छ। जन्मदर्ता भएकामध्ये ५०८ पुरुष र ४८१ महिला रहेका छन्। वडागत रूपमा वडा नम्बर ८ मा सबैभन्दा धेरै १४५ जनाको जन्मदर्ता भएको छ भने वडा नम्बर ४ मा सबैभन्दा कम ४६ जनाको जन्मदर्ता भएको छ।

यसैगरी, नगरपालिकाभरि २९३ जनाको मृत्यु दर्ता भएको छ। वडा नम्बर ७ मा सबैभन्दा धेरै ४९ जनाको मृत्यु दर्ता हुँदा वडा नम्बर १० मा सबैभन्दा कम ६ जनाको मृत्यु दर्ता भएको छ।

विवाह दर्तातर्फ वडा नम्बर ६ अगाडि रहेको छ। सो वडामा ५९ वटा विवाह दर्ता भएका छन् भने वडा नम्बर ११ मा सबैभन्दा कम १९ वटा विवाह दर्ता भएको कालिकाका एमआईएस अपरेटर सरोज लामिछानेले जानकारी दिए।

कालिकामा बसाइँसराइ पनि बढ्दो

व्यक्तिगत घटना दर्ताको तथ्यांकले कालिका नगरपालिकामा बाहिरबाट बसाइँ सरेर आउने परिवारको संख्या पनि बढिरहेको देखाएको छ। आर्थिक वर्ष २०८२/८३ मा २०५ परिवारका ७०२ जना सदस्य बाहिरबाट कालिका भित्रिएका छन्।

यसको तुलनामा ११२ परिवारका ३१२ जना सदस्य मात्रै कालिकाबाट बाहिरिएका छन्। तथ्यांकअनुसार कालिका छाडेर बाहिरिनेभन्दा नगरभित्र भित्रिनेको संख्या ३९० जनाले बढी छ।

समग्र व्यक्तिगत घटना दर्तामा वडा नम्बर ७ सबैभन्दा अगाडि रहेको छ। उक्त वडामा २७० वटा व्यक्तिगत घटना दर्ता भएका छन् भने वडा नम्बर ११ मा सबैभन्दा कम १०८ वटा घटना दर्ता भएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट