Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

चितवनमा श्रीकृष्ण प्राकट्य महामहोत्सवको रौनक, रक्तदानमा युवा–सर्वसाधारणको उत्साह

चितवनमा श्रीकृष्ण प्राकट्य महामहोत्सवको रौनक, रक्तदानमा युवा–सर्वसाधारणको उत्साह

चितवन : रत्ननगर नगरपालिका–११ स्थित प्रसिद्ध धार्मिक स्थल श्रीकृष्ण प्रणामी मन्दिर धर्मधाम जिरौनामा श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजित ‘श्रीकृष्ण प्राकट्य महामहोत्सव एवम् श्रीकृष्ण दिव्य दर्शन–२०८३’ भव्य रूपमा सञ्चालन भइरहेको छ।

शुक्रबार बिहानैदेखि मन्दिर परिसरमा भक्तजन तथा श्रद्धालुको बाक्लो उपस्थिति रहेको छ। महामहोत्सवका अवसरमा श्रीकृष्ण दिव्य दर्शन, भजनकीर्तन तथा विभिन्न धार्मिक अनुष्ठान सञ्चालन भइरहेका छन्।

महामहोत्सवकै अवसरमा श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, प्रारम्भिक समिति धर्मधाम जिरौनाको आयोजनामा मन्दिर परिसरमै खुला रक्तदान कार्यक्रमसमेत सञ्चालन भइरहेको छ। रक्तदान कार्यक्रममा स्थानीय युवा, धार्मिक व्यक्तित्व तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रमको उद्घाटन रत्ननगर नगरपालिका–११ का वडाध्यक्ष श्यामकुमार श्रेष्ठले गर्नुभएको हो। उहाँले पानसमा दीप प्रज्वलन गरी महामहोत्सवको औपचारिक उद्घाटन गर्नुभयो।

उद्घाटनका क्रममा वडाध्यक्ष श्रेष्ठले धार्मिक तथा सांस्कृतिक पर्वले समाजमा एकता, भ्रातृत्व र सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। धार्मिक कार्यक्रमसँगै रक्तदानजस्तो सामाजिक सेवाको आयोजना गरेकोमा उहाँले आयोजकलाई धन्यवादसमेत दिनुभयो।

मन्दिरका सचिव रामहरि अधिकारीका अनुसार महामहोत्सवअन्तर्गत दिनभर श्रीकृष्ण दिव्य दर्शन, भजनकीर्तन तथा विभिन्न धार्मिक गतिविधि सञ्चालन हुनेछन्।

प्रणामी सम्प्रदायको महत्वपूर्ण धार्मिक स्थलका रूपमा परिचित धर्मधाम जिरौनामा आयोजित महामहोत्सवले चितवनमा धार्मिक उत्साह थपेको छ। मन्दिर व्यवस्थापन समिति तथा आयोजक समितिले सम्पूर्ण धर्मानुरागी भक्तजनलाई सहभागी भई श्रीकृष्णको दर्शन तथा पूजाअर्चना गरी पुण्य लाभ लिन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट