चितवन : चितवनको कालिका नगरपालिकामा पछिल्लो समय बाहिरी क्षेत्रबाट स्थायी रूपमा बसाइँ सरेर आउने नागरिकको संख्या बढेको छ। आर्थिक वर्ष २०८२/०८३ मा नगरपालिकामा बसाइँ सरेर आउने परिवारको संख्या बाहिरिनेभन्दा उल्लेख्य रूपमा बढी देखिएको हो।
नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाका अनुसार उक्त आर्थिक वर्षमा २०५ परिवारका ७०२ जना सदस्य बाहिरबाट कालिका नगरपालिकामा बसाइँ सरेर आएका छन्। सोही अवधिमा ११२ परिवारका ३१२ जना सदस्यले भने कालिका छाडेका छन्।
वडागत तथ्यांक हेर्दा वडा नम्बर ३ मा सबैभन्दा बढी परिवार बसाइँ सरेर आएका छन्। उक्त वडामा ५० परिवार आएका छन् भने १० परिवार बाहिरिएका छन्। वडा नम्बर ६ मा ३९ परिवार भित्रिँदा १६ परिवार बाहिरिएका छन्। वडा नम्बर ७ मा भने भित्रिनेभन्दा बाहिरिने परिवारको संख्या बढी छ। त्यहाँ ३३ परिवार बसाइँ सरेर आउँदा ३५ परिवार बाहिरिएका छन्।
त्यस्तै, वडा नम्बर २ मा २१ परिवार आएका र १३ परिवार बाहिरिएका छन्। वडा नम्बर ५ मा १७ परिवार आएका र ५ परिवार बाहिरिएका छन्। वडा नम्बर ८ मा १५ परिवार आएका र ११ परिवार बाहिरिएका छन्। वडा नम्बर ४ मा १३ परिवार आएका र ३ परिवार बाहिरिएका छन्।
वडा नम्बर १ मा १२ परिवार बसाइँ सरेर आएका छन् भने ९ परिवार बाहिरिएका छन्। वडा नम्बर ९ मा २ परिवार आएका र ४ परिवार बाहिरिएका छन्। वडा नम्बर १० मा आउने र जाने परिवारको संख्या समान ३/३ रहेको छ। वडा नम्बर ११ मा भने बसाइँ सरेर आउने परिवारको संख्या शून्य हुँदा ३ परिवार बाहिरिएका छन्।
सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख रामप्रसाद अधिकारीका अनुसार नगरपालिकाभित्र जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँसराइसमेत गरी आर्थिक वर्ष २०८२/०८३ मा कुल २ हजार १ सय २ वटा व्यक्तिगत घटना दर्ता भएका छन्।
यस अवधिमा ९८९ जना बालबालिकाको जन्मदर्ता भएको छ। जन्मदर्ता हुनेमा ५०८ पुरुष र ४८१ महिला छन् भने तेस्रो लिङ्गीको जन्मदर्ता संख्या शून्य रहेको छ। वडागत रूपमा हेर्दा वडा नम्बर ८ मा सबैभन्दा बढी १४५ जनाको जन्मदर्ता भएको छ। वडा नम्बर ४ मा भने सबैभन्दा कम ४६ जनाको जन्मदर्ता भएको छ।
नगरपालिकामा सोही अवधिमा २९३ जनाको मृत्यु दर्ता भएको छ। मृत्यु हुनेमा १७९ पुरुष र ११४ महिला रहेका छन्। मृत्यु दर्तातर्फ वडा नम्बर ७ मा सबैभन्दा बढी ४९ जना र वडा नम्बर १० मा सबैभन्दा कम ६ जनाको विवरण दर्ता भएको छ।
त्यस्तै, आर्थिक वर्षमा ४२२ जोडीले विवाह दर्ता गराएका छन् भने ८१ जोडीले सम्बन्ध विच्छेद दर्ता गराएका छन्। विवाह दर्तातर्फ वडा नम्बर ६ मा सबैभन्दा बढी ५९ वटा र वडा नम्बर ११ मा सबैभन्दा कम १९ वटा दर्ता भएका छन्।
सम्बन्ध विच्छेदतर्फ वडा नम्बर ७ मा सबैभन्दा बढी १४ वटा घटना दर्ता भएका छन् भने वडा नम्बर १० मा सबैभन्दा कम एक वटा घटना दर्ता भएको नगरपालिकाका एमआईएस अपरेटर सरोज लामिछानेले जानकारी दिए।
समग्र व्यक्तिगत घटना दर्तातर्फ वडा नम्बर ७ अगाडि रहेको छ। उक्त वडामा २७० वटा व्यक्तिगत घटना दर्ता भएका छन्। वडा नम्बर ११ मा भने सबैभन्दा कम १०८ वटा घटना दर्ता भएका छन्।
कालिकामा बाहिरबाट बसाइँ सरेर आउने परिवारको संख्या निरन्तर बढ्नुले नगर क्षेत्र स्थायी बसोबासका लागि आकर्षक बन्दै गएको संकेत गरेको छ। विशेषगरी बजार क्षेत्रको विकास, यातायात, शिक्षा, स्वास्थ्य तथा अन्य आधारभूत सेवासुविधाका कारण कालिका नागरिकको रोजाइमा पर्न थालेको देखिन्छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij