भरतपुर : प्लास्टिक व्यवसायी संघ, चितवनको पहलमा चितवन उद्योग वाणिज्य संघ (चितवन उवासंघ) द्वारा स्थापित राहत कोष तथा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
चितवन उवासंघको कार्यालयमा आयोजित कार्यक्रममा प्लास्टिक व्यवसायी संघका अध्यक्ष तेजेन्द्र सापकोटाले राहत तथा उद्धार कोषका लागि विभिन्न सहयोगदाताबाट प्राप्त चेक चितवन उवासंघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीलाई हस्तान्तरण गर्नुभयो ।
चितवन उवासंघद्वारा स्थापित राहत कोषका लागि प्लास्टिक व्यवसायी संघले १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ । यस्तै, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी पिया प्लास्टिक इण्डष्ट्रिज प्रा.लि.ले ५ लाख ५ हजार ५५५ रुपैयाँ, सोही उद्योगका कर्मचारीहरूले ६२ हजार रुपैयाँ र विष्णु प्लास्टिक उद्योग प्रा.लि.ले २५ हजार ५५५ रुपैयाँ सहयोग गरेका छन् ।
यसअघि पनि प्लास्टिक व्यवसायी संघ, चितवनले सामाजिक उत्तरदायित्वअन्तर्गत शव व्यवस्थापनका लागि ७३ हजार ३९६ रुपैयाँ बराबरको कालो प्लास्टिक चितवन उवासंघमार्फत उपलब्ध गराएको थियो ।
सहयोग ग्रहण गर्दै वरिष्ठ उपाध्यक्ष ओलीले विपद् तथा सामाजिक कार्यमा प्लास्टिक व्यवसायी संघले देखाएको सक्रियता र योगदानको प्रशंसा गर्दै सहयोगी सबैलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा चितवन उवासंघका उपाध्यक्षद्वय नारायण प्रधान र जनक पौडेल, कार्यक्रम अधिकृत गणेश सुवेदी, प्लास्टिक व्यवसायी संघका उपाध्यक्ष रामकृष्ण दवाडी र कोषाध्यक्ष गणेश न्यौपाने, पिया प्लास्टिक इण्डष्ट्रिजका प्रबन्ध निर्देशक तेजस पियालगायतको उपस्थिति थियो । कार्यक्रम तथा सहयोग रकम सम्बन्धी जानकारी प्लास्टिक व्यवसायी संघ, चितवनका सचिव नारायण पौडेलले गराउनुभएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij