चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला क्षेत्रमा भोलि भदौ २२ गतेदेखि सवारी साधनको आवागमन आंशिक रूपमा रोकिने भएको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एक सूचना जारी गर्दै तुइन खोला परियोजनाको माटो कटान कार्य अगाडि बढाउनका लागि सवारी साधनको आवागमनमा आंशिक रोक लगाइने जानकारी दिएका हुन् ।
मुग्लिन–काठमाडौँ सडकखण्डको कृष्णभीरमा सडक मर्मत कार्य जारी रहेको र नयाँ ट्र्याक खोलेर आवागमन सुचारु गर्न केही समय लाग्ने भएकाले नारायणगढ–मुग्लिन सडकखण्डमा समेत सवारी आवागमन कम भएको छ।
कृष्णभीरको मर्मत नसकिँदासम्म सवारीको संख्या न्यून रहने समयको सदुपयोग गर्दै तुइन खोलामा माटो कटानको काम अघि बढाउन लागिएको प्रशासनले जनाएको छ।
प्रशासनका अनुसार भोलिदेखि दैनिक रूपमा निश्चित कार्यतालिका अनुसार सवारी साधन रोक्ने र खुलाउने गरिनेछ। जसअनुसार बिहान छ बजे देखि आठ बजे सम्म, बिहान साढे आठ बजे देखि सढे १० बजेसम्म, बिहान ११ बजे देखि दिउँसो एक बजेसम्म, दिउँसो साढे एक बजेदेखि तीन बजेर तीस मिनेटसम्म र अपराह्न चार बजे देखि साँझ छ बजे सम्म सवारी साधन बन्द रहनेछन्।
त्यसैगरी, सवारी साधन खुला हुने समय भने बिहान आठ बजेदेखि सढे आठ बजे सम्म, बिहान साढे १० बजेदेखि ११ बजेसम्म, दिउँसो एक बजेदेखि साढे एक बजेसम्म, दिउँसो साढे तीन बजे देखि चार बजेसम्म र साँझ छ बजे देखि निरन्तर रहनेछ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जारी गरेका सूचनामा उल्लेखित कार्यतालिकालाई ध्यानमा राखेर मात्र सवारी साधन सञ्चालन तथा यात्राको योजना बनाउन यात्रु र सवारी चालकहरूलाई अनुरोध गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij