Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

प्रधानमन्त्री बालेनलाई गगनको सुझाव - राष्ट्रसंघको महासभामा तथ्यसहित प्रस्तुत हुनुस्

प्रधानमन्त्री बालेनलाई गगनको सुझाव - राष्ट्रसंघको महासभामा तथ्यसहित प्रस्तुत हुनुस्

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रस्तुती तथ्यपरक, वैज्ञानिक र परिणाममुखी हुनुपर्ने बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै थापाले प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न विदेश भ्रमणलाई औपचारिकतामा मात्र सीमित नगरी मुलुकका महत्वपूर्ण मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढंगले उठाउन सुझाव दिएका हुन् ।

विशेषगरी जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षति र जोखिमलाई वैज्ञानिक प्रमाणसहित विश्व समुदायसमक्ष प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिए। भोटेकोसीमा आएको विनाशकारी बाढीलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै थापाले नेपालको हरितगृह ग्यास उत्सर्जन न्यून भए पनि जलवायु परिवर्तनका कारण नेपालले ठूलो क्षति व्यहोर्नुपरेको विषयलाई तथ्य र अनुसन्धानमा आधारित बनाएर अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताए।

प्रधानमन्त्रीलाई सुझाव दिँदै थापाले विदेश भ्रमणको तयारीमा केवल आफ्नो सचिवालयमा निर्भर नहुन आग्रह गरे। उनले विज्ञ, विश्वविद्यालयका अनुसन्धानकर्ता तथा सम्बन्धित क्षेत्रका विशेषज्ञसँग परामर्श गरेर नेपालको प्रस्तुती तयार गर्नुपर्ने बताए।

नेपालभित्र र विदेशमा रहेका दक्ष जनशक्तिलाई समेत परिचालन गर्न सके महासभामा नेपालको पक्ष अझ प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिने उनको भनाइ थियो। थापाले यसअघि नेपालका प्रधानमन्त्री तथा सरकारहरूले संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय मञ्चमा उठाएका विषय र गरेका पहलहरूको समेत अध्ययन गरेर त्यसैलाई निरन्तरता दिन सुझाव दिए । उनले भने, ‘हामीले वर्षौँदेखि जलवायु परिवर्तनको मारमा परेको कुरा उठाउँदै आएका छौँ, तर अबका दाबीहरू वैज्ञानिक अध्ययनमा आधारित हुनुपर्छ।’

जलवायु परिवर्तनका कारण भएको क्षतिका लागि हानि–नोक्सानीको मुद्दासँगै अनुदानमा आधारित जलवायु वित्तका लागि समेत नेपालले कडा लबिङ गर्नुपर्ने थापाको भनाइ छ । अघिल्ला प्रधानमन्त्रीहरूले महासभा तथा अन्य अन्तर्राष्ट्रिय मञ्चमा उठाएका हिमालदेखि महासागरसम्मका मुद्दा, कोप–२८ लगायतका अन्तर्राष्ट्रिय पहल तथा ‘क्लाइमेट जस्टिस’का विषयलाई निरन्तरता दिँदै अहिलेको तयारीलाई थप मजबुत बनाउनुपर्ने उनले बताए । सभापति थापाले प्रधानमन्त्रीको महासभा सहभागितालाई ‘ग्राण्ड शो’मा सीमित नगरी देशका लागि ठोस उपलब्धि हासिल गर्ने अवसरका रूपमा उपयोग गर्न सरकारको ध्यानाकर्षण गराए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट