Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

राष्ट्रपति पौडेलले मागे अन्तर्राष्ट्रिय समुदायसँग जलवायु न्याय

राष्ट्रपति पौडेलले मागे अन्तर्राष्ट्रिय समुदायसँग जलवायु न्याय

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललगायत जलवायु परिवर्तनको उच्च जोखिममा रहेका मुलुकका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन्।

भोटेकोशी नदीमा आएको बाढीपहिरोबाट रसुवालगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटलाई अन्तर्राष्ट्रिय समुदायले गम्भीरतापूर्वक लिनुपर्ने बताएका हुन्।

उनले भदौ १० गते रसुवामा आएको बाढीपहिरोले नेपालको हिमाली पर्यावरण कति संवेदनशील अवस्थामा छ भन्ने देखाएको उल्लेख गर्दै बढ्दो विश्वव्यापी तापक्रम र त्यसबाट उत्पन्न जोखिमप्रति थप गम्भीर हुनुपर्ने बताए।

“नेपाललगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न पनि अन्तर्राष्ट्रिय समुदायसँग अनुरोध गर्दछु,” राष्ट्रपति पौडेलले भने।

राष्ट्रपति पौडेलले भोटेकोशी बाढीबाट प्रभावित तथा प्राकृतिक विपत्तिका कारण घरबारविहीन भएका, आफन्त गुमाएका, विस्थापित भएका र जीविकोपार्जनका आधार गुमाएका नागरिकको पीडा अत्यन्त गहिरो रहेको बताए। यस्तो कठिन समयमा पीडित नागरिकलाई राज्यको साथ र भरोसा आवश्यक रहेको उनको भनाइ थियो।

उनले बाढीपीडितका गुनासा र मागलाई आलोचनाका रूपमा नलिई समस्या समाधानका लागि प्राप्त महत्वपूर्ण सङ्केतका रूपमा बुझ्न सरकार तथा सम्बद्ध निकायलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट