काठमाडौँ : नेपाल औषधि व्यवसायी सङ्घले औषधि क्षेत्रका विद्यमान कानुनी तथा व्यावहारिक समस्या समाधान गर्न औषधि व्यवस्था विभागसमक्ष ध्यानाकर्षण गराएका छन्। सङ्घका अध्यक्ष शंकर महर्जनको नेतृत्वमा साेमबार विभागमा गएको टोलीले औषधि दर्ता नियमावलीलाई समयसापेक्ष र व्यवसायीमुखी बनाउन ध्यानाकर्षण गराएका हुन्।
यसैगरी, हालैको प्राकृतिक विपद् तथा बाढीपहिरोका कारण काभ्रे, सिन्धुपालचोक, रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लाहरूमा क्षति व्यहोरेका औषधि व्यवसायीहरूको पुनर्स्थापनाका लागि विशेष राहतको माग गरिएको छ ।
सङ्घले आफ्नो तर्फबाट प्रारम्भिक रूपमा राहत रकम वितरण गरी पुनर्स्थापनाको पहल थालिसकेको भए पनि पूर्ण रूपमा पसल तथा घरबार गुमाएका व्यवसायीलाई पुनः स्थापित गर्न औषधि व्यवस्था विभाग र नेपाल सरकारले ठोस योजनासहित सहयोगी भूमिका निर्वाह गर्नुपर्ने सङ्घको जोड छ ।
सङ्घका पदाधिकारीहरूले औषधि क्षेत्रका विद्यमान कानुनी तथा व्यावहारिक समस्या समाधान गर्न औषधि व्यवस्था विभागसमक्ष माग गरेका छन् ।
संघका महासचिव शुभमान श्रेष्ठका अनुसार औषधि ऐनको दफा ११ मा रहेको दर्ता वा अनुमतिपत्र एक महिनाभित्रै खारेज गर्ने अव्यवहारिक प्रावधानलाई तत्काल संशोधन गरी सच्याउनुपर्नेछ।
साथै २०३८ को औषधि दर्ता नियमावलीलाई समयसापेक्ष र व्यवसायीमुखी बनाउँदै भविष्यका आधुनिक औषधि तथा स्वास्थ्य सामग्रीहरूलाई समेत समेट्ने गरी समग्र ऐनमा व्यापक सुधार गर्नुपर्ने विषयलाई मुख्य मागका रूपमा अघि सारिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij