काठमाडौं : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, सुशासन कायम तथा भ्रष्टाचार अन्त्यको मागसहित भएको ऐतिहासिक जेनजी आन्दोलनको म्यान्डेटअनुसार वर्तमान सरकारले अपेक्षित परिणाम दिन नसकेको बताएका छन् ।
गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी विद्रोहको एक वर्ष पूरा भएको अवसरमा वक्तव्य जारी गर्दै अध्यक्ष घिसिङले झन्डै दुईतिहाइ जनमत प्राप्त सरकारले पनि जनअपेक्षाअनुसार गति लिन नसकेको टिप्पणी गरेका हुन् ।
उनले आन्दोलनका क्रममा ज्यान गुमाउने सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । जेनजी आन्दोलन केवल सरकार परिवर्तनका लागि नभई राजनीतिक संस्कार, शासनशैली र सुशासनमा परिवर्तनको मागसहित उठेको पुस्ताको आवाज भएको उनले बताएका छन् ।
आन्दोलनपछि गठित सरकारले गत फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराएर राजनीतिलाई लोकतान्त्रिक प्रक्रियामा फर्काएको उल्लेख गर्दै घिसिङले सुशासनका क्षेत्रमा केही सकारात्मक प्रयास भए पनि आन्दोलनले उठाएका मूल प्रश्नहरू अझै समाधान हुन नसकेको बताएका छन् ।
उनका अनुसार संविधान, शासन प्रणाली र राज्य संरचनालाई नागरिकमैत्री बनाउने, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने तथा रोजगारी र उद्यमशीलताको वातावरण सिर्जना गर्ने विषयमा अपेक्षित प्रगति हुन सकेको छैन ।
सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले अब भाषण, घोषणा र राजनीतिक नाराले मात्र जनताको अपेक्षा पूरा नहुने बताएका छन् । ‘जनताले खोजेको परिवर्तन शासन गर्ने व्यक्तिको मात्र होइन, प्रणाली र कार्यशैलीको परिवर्तन हो,’ उनले भनेका छन् ।
उज्यालो नेपाल पार्टीले सरकारका कामकारबाहीमा निरन्तर खबरदारी, निगरानी र रचनात्मक दबाब जारी राख्ने जनाएको छ । जेनजी आन्दोलनका क्रममा भएको बलिदानलाई इतिहासमा मात्र सीमित नराखी त्यसले उठाएका माग र म्यान्डेटलाई राज्य सञ्चालनको मार्गदर्शन बनाउनुपर्नेमा पनि घिसिङले जोड दिएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij