Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

डीएनए परीक्षणमा जनशक्ति र उपकरणको अभाव, चितवनमा थुप्रिँदैछन् पहिचान नखुलेका शव

डीएनए परीक्षणमा जनशक्ति र उपकरणको अभाव, चितवनमा थुप्रिँदैछन् पहिचान नखुलेका शव

चितवन : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता आफन्तको खोजीमा परिवारहरू भौतारिइरहेका छन् । बाढीमा हराएका आफन्तको अवस्था पत्ता लगाउन परिवारजन चितवन, धादिङ, तनहुँदेखि पोखरासम्म पुगिरहेका छन् । तर, धेरै परिवारले आफ्ना प्रियजनको शवसमेत पहिचान गर्न सकेका छैनन् ।

रसुवाको टिमुरे प्रहरी चौकीमा कार्यरत ४० वर्षीय प्रहरी हवल्दार विकासबाबु अधिकारी भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि २८ जना प्रहरी कर्मचारीसँगै बेपत्ता भए । उनका बुबा पूर्णप्रसाद अधिकारी छोराको खोजीमा चितवनसहित विभिन्न जिल्ला धाइसकेका छन् ।

सरकारी कार्यालय, अस्पताल तथा प्रहरी कार्यालयमा पुग्दा पनि छोराको कुनै खबर नपाएपछि उनले चितवन उद्योग संघ परिसरमा डीएनए परीक्षणका लागि आफ्नो रगतको नमुना दिएका छन् । ‘सास पाउने आस त मरिसक्यो, लास पाइयो भने सदगत गर्न मिल्थ्यो,’ उनले भने ।

चितवनकै भरतपुर–तोरीखेतका कृष्णबहादुर नेपालीको पीडा पनि उस्तै छ । रसुवामा सवारी चालकका रूपमा काम गर्ने उनका छोरा बाढीपछि सम्पर्कविहीन छन् । छोराको खोजीमा नवलपुर र धादिङ पुगेका कृष्णबहादुर चितवनमा धेरै शव भेटिएको खबर पाएपछि भरतपुर फर्किए पनि छोराको अवस्था पत्ता लगाउन सकेका छैनन् ।

चितवनमा सबैभन्दा धेरै शव

प्रहरीको पछिल्लो तथ्यांकअनुसार भोटेकोशी बाढीबाट हालसम्म १ हजार ३ सय ४१ जनाको शव फेला परेको छ । तीमध्ये ९८ जनाको मात्र पहिचान खुलेको छ । बाढीमा बगेका शव त्रिशूली र नारायणी नदीको बहावसँगै नुवाकोट, धादिङ, तनहुँ, गोरखा, चितवन, पूर्वी तथा पश्चिम नवलपरासी हुँदै भारतसम्म पुगेका छन् ।

तीमध्ये सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन् । चितवनमा हालसम्म ३ सय ६२ शव भेटिएका छन् । तर तीमध्ये १४ जनाको मात्र सनाखत भएको छ । बाँकी ३ सय ३३ शवको डीएनए नमुना तथा पहिचानसम्बन्धी विवरण सुरक्षित गरी भरतपुर–१ स्थित देवघाट जंगलमा व्यवस्थापन गरिएको छ ।

पूर्वी नवलपरासीको नारायणी तटमा पनि २ सय २२ शव फेला परेका छन् । शवको संख्या अत्यधिक भएपछि चितवन र नवलपुरका अस्पतालका शवगृहमा समेत शव राख्ने ठाउँ अभाव भएको थियो । त्यसपछि पहिचानका लागि आवश्यक वैज्ञानिक तथा कानुनी प्रक्रिया पूरा गरी शव व्यवस्थापन गरिएको हो ।

डीएनए परीक्षणमा ठूलो चुनौती

भोटेकोशी बाढीपछि एकैपटक दुई हजारभन्दा बढी शव तथा आफन्तका नमुना प्रयोगशालामा पुगेका छन् । नेपालमा डीएनए परीक्षण गर्ने प्रमुख प्रयोगशाला सीमित भएकाले परीक्षणमा ठूलो चाप परेको छ ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मात्रै शव तथा परिवारका सदस्य गरी ५ सय ३० जनाको नमुना पुगेको छ । नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा भने शव तथा आंशिक अंगबाट १ हजार १ सय ८१ र आफन्तबाट १ हजार १ सय ८६ गरी दुई हजारभन्दा बढी नमुना पुगेका छन् ।

सामान्य अवस्थामा वर्षभरिमा केही सय नमुना मात्र परीक्षण हुने प्रयोगशालामा अहिले एकैपटक हजारौँ नमुना पुगेपछि जनशक्ति, उपकरण तथा रसायनको अभाव चुनौती बनेको छ । भारतबाट १९ र चीनबाट चार जना डीएनए विज्ञ आएर सहयोग गरिरहेका छन् भने अन्य देशबाट समेत प्राविधिक सहयोगका लागि प्रस्ताव आएको अधिकारीहरूले बताएका छन् ।

लामो समय पानीमा डुबेका शव क्षतविक्षत तथा कुहिन थालेकाले कतिपय शवबाट रगतको सट्टा दाँत वा हड्डीबाट डीएनए नमुना निकाल्नुपर्ने अवस्था छ । ताजा रगतबाट तुलनात्मक रूपमा छिटो नतिजा आए पनि हड्डीबाट डीएनए निकाल्न लामो समय लाग्न सक्ने विज्ञहरूले बताएका छन् ।

पहिचान नभएका शव सुरक्षित रूपमा व्यवस्थापन

शवगृहमा लामो समयसम्म शव राखिराख्दा दुर्गन्ध र संक्रमणको जोखिम बढेपछि सरकारले पहिचान नखुलेका शवलाई वैज्ञानिक प्रक्रिया पूरा गरेर सुरक्षित रूपमा व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

पोस्टमार्टम र डीएनए नमुना संकलनपछि शवलाई संकेत नम्बर, फोटो तथा अन्य विवरणसहित सुरक्षित स्थानमा व्यवस्थापन गरिएको छ । कतिपय स्थानमा शव गाडिएको स्थानको जीपीएस लोकेसनसमेत सुरक्षित राखिएको छ ।

चितवनमा व्यवस्थापन गरिएका शवको विवरण तथा डीएनए नमुना सुरक्षित राखिएको प्रहरीले जनाएको छ । भविष्यमा कुनै परिवारको डीएनए नमुना मिलेको अवस्थामा सम्बन्धित स्थानबाट शव झिकेर कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाउने व्यवस्था गरिएको छ ।

यसले अहिले शव नपाएका परिवारलाई कम्तीमा भविष्यमा पहिचान खुल्न सक्ने आशा दिएको छ । तर, हजारौँ नमुना परीक्षणको चापका कारण नतिजा आउन केही महिना लाग्न सक्ने भएकाले बेपत्ता आफन्तको खोजीमा रहेका परिवारको पर्खाइ अझै लामो हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट