Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

जोर्डनस्थित अमेरिकी सैन्यवेस ‘अल अजराक’मा क्षेप्यास्त्र प्रहार गरेको इरानको दाबी

जोर्डनस्थित अमेरिकी सैन्यवेस ‘अल अजराक’मा क्षेप्यास्त्र प्रहार गरेको इरानको दाबी

काठमाडौंः इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले जोर्डनमा रहेको अमेरिकी सैन्य आधार ‘अल अजराक एयर बेस’लाई लक्षित गरी ठूलो संख्यामा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ। 

अमेरिकाले इरानी इन्धन ट्यांकरमाथि गरेको पछिल्लो आक्रमणको जवाफमा यो सैन्य कारबाही गरिएको इरानले जनाएको छ। इरानको अर्ध–सरकारी समाचार संस्था तस्निमले आईआरजीसीले उक्त कारबाहीलाई ‘आक्रमणकारीलाई सजाय दिने अभियान’को संज्ञा दिएको छ।

आईआरजीसीले आक्रमणमा ठोस र तरल दुवै प्रकारका इन्धन प्रयोग हुने ठूलो संख्यामा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको बताएको छ। ती क्षेप्यास्त्रले अमेरिकी वायुसेनाका एफ–३५, एफ–१६ र एफ–१५ लडाकु विमान राखिएका सेल्टर, मर्मत सम्भार केन्द्र तथा तयारी र तैनाथीसम्बन्धी पूर्वाधारलाई लक्षित गरेको र त्यहाँ ठूलो क्षति पुगेको इरानी पक्षले दाबी गरेको छ।

यसैबीच, जोर्डनको वायु रक्षा प्रणालीले इरानले प्रहार गरेका कम्तीमा आठवटा क्षेप्यास्त्रलाई राजधानी अम्मान तथा अन्य सहरमाथि पुग्नुअघि नै हावामै निष्प्रभावी बनाएको जोर्डनले दाबी गरेको अलजजिराले जनाएको छ। जोर्डन–सिरिया सीमा क्षेत्रमा क्षेप्यास्त्र प्रहारका दृश्यहरू सार्वजनिक भएको बताइएको छ। 

इरानी पक्षले यसलाई पछिल्ला दिनमा अमेरिकाले गरेका सैन्य कारबाहीको जवाफमा गरिएको अहिलेसम्मकै ठूलो तथा तीव्र क्षेप्यास्त्र आक्रमणका रूपमा प्रस्तुत गरेको छ। यद्यपि, अल अजराक एयर बेसमा अमेरिकी विमान वा अन्य सैन्य पूर्वाधारमा कति क्षति पुग्यो भन्नेबारे पुष्टि हुन बाँकी छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट