चितवन : नारायणी र त्रिशूली नदीमा फेला परेका थप १६ वटा शव तथा मानव अंगको चितवनमा व्यवस्थापन गरिएको छ।
विभिन्न स्थानबाट उद्धार गरी भरतपुर अस्पतालको शवगृहमा राखिएका शवको पहिचानका लागि डीएनए नमुना संकलनलगायत आवश्यक प्रक्रिया पूरा गरेपछि मंगलबार साँझ देवघाटस्थित जंगल क्षेत्रमा जमिनमुनि व्यवस्थापन गरिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार व्यवस्थापन गरिएका १६ शवमध्ये केही सग्ला शरीर र केही मानव अंग रहेका छन्। उनका अनुसार हालसम्म फेला परेका शवमध्ये यो अन्तिम व्यवस्थापन हो।
प्रहरीका अनुसार शनिबारदेखि चितवनमा नयाँ शव फेला परेको छैन। हालसम्म जिल्लाका विभिन्न स्थानबाट ३६३ वटा शव संकलन गरिएको छ। तीमध्ये १४ शवको पहिचान खुलेपछि परिवारलाई बुझाइएको छ भने ३३५ शव यसअघि नै व्यवस्थापन गरिसकिएको प्रहरीले जनाएको छ।
बाढी तथा पहिरोका कारण बेपत्ता भएकाहरूको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले मेघौलीदेखि गोलाघाटसम्म नदी आसपासका क्षेत्रमा खोजी अभियान सञ्चालन गरेका थिए।
खोजी कार्यलाई निरन्तरता दिइए पनि पछिल्लो समय थप शव फेला नपरेको जिल्ला प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij