Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

चितवनकै विकट कान्दा, जहाँ अझै पुगेको छैन सडक र बिजुली : सामानदेखि बिजुलीका पोलसम्म मान्छेकै भर

चितवनकै विकट कान्दा, जहाँ अझै पुगेको छैन सडक र बिजुली : सामानदेखि बिजुलीका पोलसम्म मान्छेकै भर

चितवन : सुगम जिल्लाका रूपमा चिनिने चितवनमा अझै पनि सडक सञ्जाल र विद्युत् सेवा नपुगेको विकट गाउँ छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, राप्ती नगरपालिका–१३ मा पर्ने कान्दा अझै पनि आधारभूत पूर्वाधारको अभावमा संघर्ष गरिरहेको छ ।

कान्दाबाट नजिकैको सडकसम्म पुग्न करिब तीन घन्टा पैदल हिँडेर कालीटार झर्नुपर्छ । सार्वजनिक सवारीसाधन चढ्नका लागि कालीटारबाट थप करिब एक घन्टा हिँडेर भञ्ज्याङ पुग्नुपर्ने बाध्यता स्थानीयको छ । गाउँमा अहिलेसम्म सडक पुगेको छैन भने बिजुलीका लागि आवश्यक पोल बोकेर लैजाने काम भइरहेको छ ।

कान्दाबाट चारैतिर हेर्दा सडक सञ्जाल खनेको समेत देखिँदैन । यही कारण कान्देली चेपाङलाई जिल्ला सदरमुकाम भरतपुर आउनुपर्दा एकै दिनमा काम सकेर फर्किन कठिन हुने गरेको छ । कतिपय अवस्थामा एक रात बाटोमै बस्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।

बिहीबार नेपाल पत्रकार महासंघ चितवनको हलमा आयोजित संवाद कार्यक्रममा कान्दाका सीताबहादुर चेपाङले गाउँको सबैभन्दा ठूलो आवश्यकता सडक रहेको बताए । सडक नहुँदा खाद्यान्नदेखि निर्माण सामग्री र बिजुलीका पोलसम्म मानिसले नै बोकेर लैजानुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

‘सबैभन्दा ठूलो आवश्यकता भनेको त बाटो नै रहेछ । बाटो नहुँदा खाद्यान्नदेखि बिजुलीको पोलसम्म मान्छेले नै बोक्नु परेको छ,’ उनले भने ।

गाउँसम्म सडक नहुँदा ढुवानी खर्च अत्यधिक महँगो हुने गरेको उनले बताए । कालीटारबाट कान्दासम्म सामान बोकेर लैजाँदा सामान किनेको मूल्यबराबर नै बोक्ने ज्याला तिर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । यसले दैनिक उपभोग्य वस्तुसमेत महँगो पर्ने भएकाले कान्देली जनता महँगीको ठूलो मारमा परेको उनले बताए ।

कान्दामै लक्ष्मी प्रतिष्ठानमार्फत सञ्चालित कुमार–बलराम स्मृति प्रतिष्ठान रहेको छ । त्यहाँ एक सयभन्दा बढी चेपाङ बालबालिका आवासीय सुविधासहित अध्ययन गरिरहेका छन् । ती बालबालिकाका लागि आवश्यक खाद्यान्नलगायत सामग्री पनि स्थानीय गाउँलेले बोकेरै लैजाने गरेका छन् ।

‘गाउँमा भारी बोक्ने कामले नै फुर्सद पाइँदैन । गाउँसम्म बाटो पुगेको भए गाउँलेलाई सुविधा हुन्थ्यो र सामान पनि केही सस्तोमा पुग्थ्यो,’ सीताबहादुरले भने ।

यद्यपि, पछिल्लो समय कान्दाको शिक्षा र जीविकोपार्जनको क्षेत्रमा भने केही सकारात्मक परिवर्तन आएको उनी बताउँछन् । मितेरी फाउन्डेसन र लक्ष्मी प्रतिष्ठानले गाउँमा पुर्‍याएको सहयोगका कारण स्थानीयको जीवनशैलीमा क्रमिक सुधार आएको उनको भनाइ छ ।

‘प्रतिष्ठानले शिक्षामा जोड दिएको छ । मितेरीले हामीलाई गरिखाने बाटो सिकाएको छ,’ उनले भने, ‘मितेरीले गर्दा हामीलाई एक महिना थप खान पुग्ने भएको छ ।’

मितेरी फाउन्डेसनले सिकाएको खेतीपातीको अभ्यास गाउँमा प्रभावकारी बन्दै गएको उनले बताए । शिक्षा र जीविकोपार्जनका क्षेत्रमा गैरसरकारी संस्थाले पुर्‍याएको योगदानमा राज्यको समेत साथ थपिए कान्दाको दैनिकीमा ठूलो परिवर्तन ल्याउन सकिने उनको भनाइ छ ।

२०६७ जेठमा जङ्गली च्याउ खाँदा एकै परिवारका सदस्यको मृत्यु भएपछि कान्दालाई केन्द्रमा राखेर मितेरी फाउन्डेसन स्थापना भएको थियो । त्यसयता फाउन्डेसनले कान्दाको अवस्था बाहिर ल्याउनेदेखि स्थानीयको जीवनस्तर सुधारका लागि विभिन्न क्षेत्रमा काम गर्दै आएको छ ।

फाउन्डेसनका अध्यक्ष रमेशकुमार पौडेलका अनुसार डेढ दशकअघिको कान्दा र अहिलेको कान्दालाई तुलना गर्दा धेरै परिवर्तन भइसकेको छ । समाचार सङ्कलनका क्रममा १६ वर्षअघि पहिलोपटक कान्दा पुगेको अनुभव सुनाउँदै पत्रकारसमेत रहेका पौडेलले त्यतिबेला गाउँ पुग्न १२ घन्टासम्म पैदल हिँड्नुपर्ने अवस्था रहेको बताए ।

‘त्यतिबेला १२ घन्टा पैदल हिँड्नुपथ्र्यो । अहिले दुई घन्टा हिँडे सजिलै पुगिन्छ,’ उनले भने ।

उनका अनुसार कान्दामा विद्यालय शिक्षाको अवस्था पनि पहिलेभन्दा निकै सुधार भएको छ । लक्ष्मी प्रतिष्ठानले कान्दा आसपासका चेपाङ बालबालिकाको शिक्षादीक्षामा योगदान पुर्‍याएपछि समुदायमा शैक्षिक जागरणसमेत बढेको छ ।

तर, शिक्षा र जीविकोपार्जनमा सुधार भइरहे पनि सडक, बिजुलीजस्ता आधारभूत पूर्वाधारको अभाव अझै कायमै रहेको पौडेलले बताए । राज्यले स्थानीयको वास्तविक आवश्यकता पहिचान गरेर पूर्वाधार विकासमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।

कार्यक्रममा सहभागी जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले चितवनजस्तो जिल्लामा अझै पनि नागरिकले सडक र बिजुलीजस्ता आधारभूत सुविधाका लागि संघर्ष गर्नुपर्ने अवस्था दुःखद रहेको बताए ।

उनले कान्देली जनताको वास्तविक समस्या र आवश्यकतालाई ध्यानमा राखेर तीनै तहका सरकारले काम गर्नुपर्ने बताए । नागरिक अगुवासँगको सहकार्यमा कान्दाको पूर्वाधार विकास र जनजीवन सहज बनाउन पहल आवश्यक रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट