Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

बढ्दो उत्पादन लागतले दुग्ध किसान संकटमा, दूधको मूल्य समायोजन गर्न माग

बढ्दो उत्पादन लागतले दुग्ध किसान संकटमा, दूधको मूल्य समायोजन गर्न माग

चितवन : गाईभैंसी पालन गरेर दूध उत्पादन गर्दै आएका किसान बढ्दो उत्पादन लागत र अपेक्षाकृत न्यून आम्दानीका कारण आर्थिक दबाबमा परेका छन् । पशु आहार, औषधि, श्रम तथा गोठ व्यवस्थापनलगायतका खर्च बढ्दै गएपछि दूध उत्पादन व्यवसाय धान्न कठिन बन्दै गएको किसानहरूले बताएका छन् ।

अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रदिप तिमल्सेनाले बजारमा दैनिक उपभोग्य वस्तुसँगै गाईभैंसीलाई खुवाउने दाना, चोकर, पराललगायतका सामग्रीको मूल्य उल्लेख्य रूपमा बढेको बताए । उत्पादनमा लाग्ने खर्च निरन्तर बढे पनि सोही अनुपातमा दूधको मूल्य समायोजन नहुँदा किसानको वास्तविक आम्दानी घट्दै गएको उनको भनाइ छ ।

उत्पादन लागत बढेका कारण दूध बिक्रीबाट प्राप्त आम्दानीले पशुपालनमा भएको सम्पूर्ण खर्च धान्नसमेत कठिन भइरहेको तिमल्सेनाले बताए । लागत र आम्दानीबीचको अन्तर बढ्दै जाँदा किसानहरू पशुपालन व्यवसायलाई निरन्तरता दिने कि छाड्ने भन्ने अवस्थामा पुगेको उनले बताए ।

उनले किसानको वास्तविक उत्पादन लागतलाई आधार बनाएर दूधको मूल्य तत्काल समायोजन गर्न सरकारसँग माग गरेका छन् । उत्पादन लागतअनुसार उचित मूल्य निर्धारणसँगै उत्पादनमा आधारित अनुदानको व्यवस्था गरी त्यसको प्रत्यक्ष लाभ किसानसम्म पुर्‍याउनुपर्ने उनको भनाइ छ ।

दुग्ध किसानलाई संरक्षण गर्न राज्यले उत्पादन लागत, बजार मूल्य र किसानको आम्दानीबीच सन्तुलन कायम गर्नुपर्ने तिमल्सेनाले बताए ।

“किसान बचे मात्र देश बच्छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट