काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा इन्जिनियर श्रीराम न्यौपानेले चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फसेको आशंका गरिएका नागरिकको पनि जीवितै उद्धार हुने विश्वास व्यक्त गरेका छन्।
भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा केही मानिस फसेको आशंका गरिएको छ। उनीहरूको खोज तथा उद्धारका लागि अहिले सुरुङभित्र उद्धार टोली सक्रिय छ।
उद्धार कार्यमा सक्रिय न्यौपानेले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत त्रिशूली–३ ए जलविद्युत् आयोजनामा १० दिनपछि दुई जनाको सकुशल उद्धार भएजस्तै चिलिमेबाट पनि सुखद खबर आउने विश्वास व्यक्त गरेका हुन्।
उनले त्रिशूली–३ ए आयोजनामा उद्धार कार्यमा सहयोगी भूमिका निर्वाह गर्न पाएकोमा खुसी व्यक्त गर्दै १० दिनपछि दुई जनाको सकुशल उद्धार भएको घटनाले आफू उत्साहित भएको बताएका छन्।
‘यस्तै शुभ समाचार चिलिमे जलविद्युत् आयोजनाबाट पनि छिट्टै सुन्न पाइने विश्वास छ,’ न्यौपानेले फेसबुकमा लेखेका छन्।
त्रिशूली–३ ए आयोजनाबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार भएको घटनाले चिलिमेमा जारी खोज तथा उद्धारमा पनि आशा थपिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij