Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

ब्रिक्स घोषणापत्र : कुनै देशको नाम नतोकी एकपक्षीय युद्धको विरोध गरिने

ब्रिक्स घोषणापत्र : कुनै देशको नाम नतोकी एकपक्षीय युद्धको विरोध गरिने

नयाँ दिल्ली : भारतको नयाँदिल्लीमा जारी १८ औँ ब्रिक्स शिखर सम्मेलनबाट जारी हुने संयुक्त घोषणापत्रमा कुनै विशेष देशको नाम नतोकी एकपक्षीय रूपमा युद्ध थोपर्ने कार्यको विरोध गरिने सम्भावना छ।

भारतीय सञ्चारमाध्यम द टाइम्स अफ इन्डियालाई उद्धृत गर्दै ११ सदस्यीय ब्रिक्स समूहका देशहरू घोषणापत्रको मस्यौदामा सहमत भएको जनाइएको छ। भारतको अध्यक्षतामा भइरहेको यस सम्मेलनमा सदस्य राष्ट्रहरूबीच पछिल्ला विश्व तथा क्षेत्रीय घटनाक्रमबारे छलफल भइरहेको छ।

घोषणापत्रलाई अन्तिम रूप दिने क्रममा विशेषगरी इरान र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको मतभेद चुनौती बनेको छ। खाडी क्षेत्रमा जारी द्वन्द्वका विषयमा दुवै देश फरक पक्षमा रहेकाले दुवैलाई स्वीकार्य हुने साझा भाषा खोज्न सदस्य राष्ट्रहरूले प्रयास गरिरहेका छन्। रोयटर्सलाई उद्धृत गरिए अनुसार घोषणापत्रमा कुनै देशलाई प्रत्यक्ष रूपमा दोषी नदेखाई एकपक्षीय रूपमा युद्ध थोपर्न नहुने र अन्तर्राष्ट्रिय शान्ति कायम गर्नुपर्ने सन्देश दिने तयारी गरिएको छ।

भारतले सन् २०२६ को जनवरी १ देखि ब्रिक्सको अध्यक्षता सम्हालेको हो। यसअघि भारतले सन् २०१२, २०१६ र २०२१ मा पनि ब्रिक्सको अध्यक्षता गरिसकेको छ। ब्रिक्स स्थापना भएको २० वर्ष पुगेको अवसरमा आयोजना गरिएको यसपटकको सम्मेलनको मुख्य विषय ‘लचिलोपन, नवप्रवर्तन, सहकार्य र दिगोपनका लागि निर्माण’ रहेको छ।

हाल ब्रिक्समा ब्राजिल, चीन, इजिप्ट, इथियोपिया, भारत, इन्डोनेसिया, इरान, रुस, साउदी अरब, दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट्स गरी ११ सदस्य राष्ट्रहरू रहेका छन्। साथै बेलारुस, बोलिभिया, क्युबा, कजाखस्तान, मलेसिया, नाइजेरिया, थाइल्यान्ड, युगान्डा, उज्बेकिस्तान र भियतनाम साझेदार राष्ट्रका रूपमा रहेका छन्। विश्वमा बढिरहेको भूराजनीतिक तनाव र व्यापारिक प्रतिबन्धका बिच ब्रिक्सले साझा धारणा निर्माण गर्न खोजिरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट