Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

सरकारका राम्रा कामको समर्थन गर्न सिकौँ : इन्द्र बानियाँ

सरकारका राम्रा कामको समर्थन गर्न सिकौँ : इन्द्र बानियाँ

काठमाडौँ : बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारले गरेको राम्रो कामलाई राम्रो भन्न सक्ने फराकिलो सोच आवश्यक रहेको बताएका छन्।

उनले संघीय सरकारले निर्माण व्यवसायीका लागि ल्याएको औसत बोलपत्र प्रणाली र निर्माण आयोजनाको पुनः तालिकाकरणको व्यवस्थालाई सकारात्मक रूपमा लिनुपर्ने बताएका हुन्। शनिवार हेटौंडामा आयोजित निर्माण व्यवसायी संघ मकवानपुरको २६ औँ वार्षिक साधारणसभा तथा १२ औँ अधिवेशनलाई सम्बोधन गर्दै बानियाँले सरकार फरक भए पनि राम्रो नीति र निर्णयको समर्थन गर्न सक्ने संस्कार हुनुपर्ने धारणा राखे।

सरकारका सबै कामलाई राजनीतिक दृष्टिकोणबाट मात्र हेर्ने प्रवृत्तिले सकारात्मक कामको उचित मूल्यांकन हुन नसक्ने उनको भनाइ थियो। लामो समयदेखि निर्माण क्षेत्रमा देखिएका विभिन्न समस्या समाधानका लागि सरकारले ल्याएका नीतिगत व्यवस्थाले व्यवसायीलाई काम अघि बढाउन केही सहज वातावरण निर्माण गर्ने उनको विश्वास छ।

नयाँ व्यवस्था कार्यान्वयनसँगै केही निर्माण व्यवसायीले थप समस्या र कठिनाइसमेत भोगिरहेकोतर्फ सरकारको ध्यान जानुपर्ने पूर्व मुख्यमन्त्री बानियाँले बताए। उनले वर्तमान सरकारप्रति जनतामा आशा र भरोसा रहेको उल्लेख गर्दै देश राम्रोसँग सञ्चालन हुनु नै प्रमुख कुरा भएको बताए।  कुन राजनीतिक दलले सरकार चलायो भन्नेभन्दा पनि जनता सुखी र खुसी भएर बाँच्न पाउने वातावरण हुनुपर्ने उनको भनाइ थियो।

बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले निर्माण व्यवसाय पछिल्लो समय गम्भीर समस्यामा परेको भन्दै यसको समाधानका लागि राज्य र निर्माण व्यवसायी दुवै जिम्मेवार भएर अघि बढ्नुपर्ने बताए। श्रेष्ठले निर्माण क्षेत्र कमजोर हुँदा त्यसको असर मुलुकको विकास र पूर्वाधार निर्माणमा पर्ने बताए।

निर्माण व्यवसाय मुलुकको पूर्वाधार विकाससँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले यसलाई व्यवस्थित बनाउन सरकार र व्यवसायी दुवैले गम्भीरतापूर्वक सोच्नुपर्ने उनको भनाइ छ। श्रेष्ठले निर्माण व्यवसायीका समस्या समाधानमा राज्यले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने र व्यवसायीहरूले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए।

त्यसैगरी निर्माण व्यवसायी महासंघका उपाध्यक्ष बालकृष्ण थापाले सार्वजनिक खरिद ऐन तथा नियमावलीमा भएका नयाँ व्यवस्थालाई कर्मचारीले डरका कारण कार्यान्वयन नगर्ने अवस्था अन्त्य हुनुपर्ने बताए। थापाले सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) र विद्युतीय खरिद प्रणाली (इ–जीपी) सम्बन्धमा निर्माण व्यवसायीका तर्फबाट निरन्तर आवाज उठाउँदै आएको जानकारी दिए।

संघका मकवानपुर अध्यक्ष बालगोपाल कँडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य भारती पाठक, निर्माण व्यवसायी महासंघ बागमती प्रदेशका अध्यक्ष छत्रबहादुर तामाङ लगायतको मन्तव्य राखेका थिए। अधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट