काठमाडौँ : नेपाली कांग्रेसको संस्थापन इतर पक्षले विशेष महाधिवेशनमार्फत निर्वाचित गगन थापा नेतृत्वको संस्थापनले गरेको निर्णय नमान्ने र पार्टीको १५औँ महाधिवेशन प्रक्रिया आफ्नै तरिकाले अघि बढाउने निर्णय गरेको छ।
सोमबार निवर्तमान सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा बसेको समूहको बैठकले पार्टी केन्द्रीय कार्यालयको निर्णयअनुसार महाधिवेशनमा भाग लिन नसकिने निष्कर्ष निकालेको हो। यसअघि संस्थापन पक्षको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १४औँ महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यहरूलाई सोही हैसियतमा १५औँ महाधिवेशनमा भाग लिन दिने निर्णय गरेको थियो।
संस्थापन इतर पक्षले भने आफूहरू कुनै पदका लागि नभई पार्टीलाई जोगाउने अभियानमा अघि बढेको बताएको छ। उसले उमाकान्त चौधरीले यसअघि प्रस्तुत गरेको १५ औँ महाधिवेशनको कार्यतालिकालाई अघि बढाउने निर्णय गरेको जनाएको हो।
बैठकपछि नेता डा प्रकाशशरण महतले संस्थापन पक्षको निर्णयका बारेमा अनौपचारिक छलफल भएको र आज सोमबार चार बजे पत्रकार सम्मेलन गरेर औपचारिक धारणा तय गर्ने जानकारी दिए।
संस्थापनले असोजमा १५औँ महाधिवेशन घोषणा गरेकोमा यसअघि नै देउवा समूहले मंसिरमा महाधिवेशन तोकेको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij