भरतपुर : भरतपुर महानगरपालिका र भरतपुर अस्पतालबीच महानगरपालिका–१९ स्थित शारदानगर स्वास्थ्य चौकीमा विशेषज्ञ स्वास्थ्य सेवा क्रमशः विस्तार तथा सञ्चालन गर्ने सम्बन्धमा आज सम्झौता–पत्रमा हस्ताक्षर भएको छ। पश्चिम चितवनका बासिन्दालाई साना–साना स्वास्थ्य समस्या र स्वास्थ्य बीमाको उपचारका लागि भरतपुर अस्पताल नै धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले यो कदम चालिएको सरोकारवालाले जनाएका छन्।
महानगरपालिकाका कार्यवाहक नगर प्रमुख चित्रसेन अधिकारीका अनुसार शारदानगर स्वास्थ्य चौकीको स्वामित्वमा रहेको कुल २ बिघा ७ कठ्ठा जग्गामध्ये १४ कठ्ठा जग्गा स्वास्थ्य चौकी र वडा कार्यालयका लागि सुरक्षित राखिनेछ। बाँकी जग्गा प्रचलित ऐन तथा कानुनी मापदण्ड पूरा गरी, आवश्यक नापी प्रक्रिया अगाडि बढाएर भोगचलनमा दिने सहमति सम्झौतामा उल्लेख छ।
अधिकारीका अनुसार महानगरपालिकाले हाल पूर्वाधार निर्माण तथा उपकरण खरिदका लागि करिब १ करोड रुपैयाँ छुट्याएको छ। यस रकमबाट एक्स–रे र इन्डोस्कोपी मेसिन खरिद गरिने र भवन नवीकरण (रिनोभेसन) गरी जाँच कक्ष तथा प्रशासनिक काउन्टर व्यवस्थापन गरिने उनले बताए। सुरुवाती पूर्वाधार तयार भएपछि सेवाको पूर्ण सञ्चालन जिम्मेवारी भरतपुर अस्पतालले लिनेछ।
“यो एक हिसाबले नेपालकै पहिलो स्याटेलाइट शैलीको स्वास्थ्य केन्द्र हो भनी मेसु साबले बताउनुभएको छ,” कार्यवाहक नगरप्रमुख अधिकारीले भने।
अधिकारीका अनुसार यो स्वास्थ्य चौकीमार्फत बालबालिका र महिलासम्बन्धी उपचार, हाडजोर्नी परीक्षण, बिमा सेवा र प्रयोगशाला (ल्याब रिपोर्ट) सेवासम्म समेटिनेछ। शल्यक्रिया वा भर्ना आवश्यक भएमा बिरामीलाई अन्यत्र रिफर नगरी भरतपुर अस्पतालमै थप उपचारका लागि ल्याइनेछ।
शारदानगर क्षेत्र भरतपुर अस्पतालबाट करिब १६ किलोमिटर पश्चिम पर्छ। यसका साथै माडी नगरपालिकाका जनताले पनि भरतपुर नआई नजिकैको शारदानगरबाटै औषधि–उपचार सेवा पाउने भएकाले यो स्थान रणनीतिक रूपमा उपयुक्त देखिएको अधिकारीले उल्लेख गरे।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन (मेसु ) डा. विश्वबन्धु बगालेका अनुसार यो पहल भरतपुर अस्पतालमा बढ्दो भीडभाड कम गर्ने र गुणस्तरीय सेवा नजिकैबाट उपलब्ध गराउने उद्देश्यले अगाडि बढाइएको हो।
डा. बगालेका अनुसार सुरुवाती चरणमा विशेषज्ञ सेवा राखिनेछ, साथै प्रयोगशाला र फार्मेसी सेवा पनि उपलब्ध गराइनेछ। “भरतपुर अस्पतालमा हामीले जुन सेवा दिन्छौं, त्यही सेवा उहाँहरूले त्यहीँ पाउनुहुनेछ,” उनले थपे।
सेवा सुरुमा बहिरंग (ओपिडी) सेवाबाट सञ्चालन हुनेछ। त्यसपछि आवश्यकता र सञ्चालन क्षमताको आधारमा क्रमशः आकस्मिक सेवा, इन्डोर सेवा र शल्यक्रिया सेवासम्म विस्तार गर्दै दीर्घकालमा ठूलो अस्पतालमा रूपान्तरण गर्ने सोच रहेको उनले जनाए।
सेवा सुरु हुनुअघि न्यूनतम भौतिक पूर्वाधार तयार गर्नुपर्ने डा. बगालेले बताए। यसअन्तर्गत सरसफाइ व्यवस्था, पहुँच बाटो, प्रतीक्षालय, सेड र वेटिङ एरिया निर्माण जस्ता कार्यहरू महानगरपालिकालाई सुम्पिइएको छ। पूर्वाधार निर्माण सम्पन्न भएसँगै भरतपुर अस्पतालले विशेषज्ञ जनशक्ति नियुक्त गरी सेवा सञ्चालनमा ल्याउने उनले स्पष्ट पारे। सेवा सञ्चालन भएपछि यसको पूर्ण सञ्चालनगत जिम्मेवारी भरतपुर अस्पतालकै रहनेछ।
यो सम्झौता स्थानीय सरकार (भरतपुर महानगरपालिका) र संघीय स्वास्थ्य संस्था (भरतपुर अस्पताल) बीचको सहकार्यमा जनतालाई गुणस्तरीय र सहज विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने साझा उद्देश्यबाट प्रेरित रहेको दुवै पक्षले जनाएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij