Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

टिकटक र फेसबुकले फेरिदियो म्याग्दीको स्थानीय उत्पादनको बजार

टिकटक र फेसबुकले फेरिदियो म्याग्दीको स्थानीय उत्पादनको बजार

म्याग्दीः म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीका कमला बानियाँ थापाले जलजला गाउँपालिका–३ पर्वत बेनीमा सञ्चालन गरेको ‘थापा लोकल मार्ट’मा दुई वर्षअघि सम्म स्थानीय ग्राहक मात्रै आउँथे। 

म्याग्दी, मुस्ताङ र पर्वतका हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन हुने विभिन्न रैथाने वस्तु पाइने थापाको पसलका सामान अहिले विदेशसम्म पुग्न थालेको छ। ‘सामाजिक सञ्जाल ‘टिकटक’ र ‘फेसबुक’मा लाइभ बसेर सामान देखाउन थालेपछि ग्राहकको पहुँच बढेकोमात्र छैन, कारोबार र आम्दानी पनि उल्लेख्य वृद्धि भएको छ,’ उनले भनिन्, ‘यसअघि बेनी र मल्लाज क्षेत्रका सीमित ग्राहक आउँथे।’

थापा जस्तै रातो च्याउ, टिमुर, सिलटिमुर, जिम्बु, सिमी, भट्ट, मह, भाँगो, दाल, बदाम र भिरमहलगायत म्याग्दीका स्थानीय उत्पादनको बिक्री गर्ने म्याग्दीका उद्यमीका लागि सामाजिक सञ्जाल सहयोगी बनेको छ। ‘फेसबुक र टिकटकमार्फत सामानको प्रचार गर्न थालेपछि बजार निकै फराकिलो भयो’, सञ्चालक थापाले भनिन्, ‘पहिला यहाँका स्थानीय उपभोक्तामै सीमित थियौँ। अहिले सामान भए ग्राहकको कमी छैन।’

दश वर्ष म्याग्दीको गैरसरकारी संस्था र पाँच वर्ष सहकारीको प्रबन्धक भएर काम गरेकी थापाले विसं २०७७ मा आफ्नै घरमा सुरु गरेको व्यवसाय सञ्चालनका लागि ज्ञान, सीपको कमीले घाटा ब्यहोर्नु परेको सम्झिछिन्। 

गण्डकी प्रदेश सरकार र जलजला गाउँपालिकाले सञ्चालन गरेको वृद्धिमुखी उद्यमशीलता कार्यक्रममा सहभागी भएपछि नयाँ अनुभव प्राप्त भयो। अध्ययन भ्रमण र तालिमका कारण व्यवसायको शैली परिवर्तन गरेपछि सफलता मिलेको थापाले सुनाइन्।

कृषक र उद्यमीबाट ल्याएको सामान उहाँले ‘फेसबुक पेज’ र ‘टिकटक’मार्फत सार्वजनिक गर्छिन्। सामाजिक सञ्जालमा राखिएका उत्पादनका तस्बिर तथा भिडियो हेरेर सामान खरिद गर्न आउँछन्। उनका अनुसार बेलायत, अमेरिका र अष्ट्रेलियामा रहेका नेपालीलेसमेत सामाजिक सञ्जालमार्फत सामानको माग गर्न थालेका छन्। 

स्थानीय ग्राहक आफैँ पसलमा आएर सामान लैजाने गरेका छन्। देशका विभिन्न सहरमा कुरियरमार्फत सामान पठाउने गरिएको छ। विदेशमा रहेका ग्राहकका आफन्त पसलमा आएर सामान खरिद गर्ने गरेका छन्।

सामाजिक सञ्जालकै कारण पसलसम्म आउने ग्राहकको सङ्ख्यासमेत बढेको थापाको अनुभव छ। ‘सामाजिक सञ्जालमा पसल र सामान देखेर गाडी लिएर पसल हेर्न आउने ग्राहक पनि छन्’ उनले भनिन्। 

हाल थापा लोकल मार्टबाट वार्षिक रु ३५ देखि ४० लाखसम्मको कारोबार हुने गरेको छ। सबै खर्च कटाएर वार्षिक रु सात लाखसम्म बचत हुने गरेको थापा बताउँछिन्। व्यवसायमा उनका श्रीमान् खुमबहादुर थापा र दुई छोराछोरीले सहयोग गर्दै आएका छन्। कामको चाप बढेका बेला स्थानीय मजदुरलाई समेत आंशिक रोजगारी दिने गरिएको छ।

‘पहिला बजार खोज्दै सामान बेच्नुपथ्र्यो, अहिले ग्राहकले नै सामान खोज्दै सम्पर्क गर्नुहुन्छ’, थापाले भने, ‘सामाजिक सञ्जालले हाम्रो व्यवसायलाई नयाँ बजार दिएको छ।’ स्थानीय किसान तथा उत्पादकबाट सामान खरिद गर्ने भएकाले गाउँमा उत्पादन भएका वस्तुले बजार पाउने र उत्पादकले आफ्नो उत्पादनबाट आम्दानी गर्ने अवसर बढेको छ।

स्थानीयस्तरमा उत्पादन हुने वस्तुलाई आकर्षक ढङ्गले प्रस्तुत गरेर सामाजिक सञ्जालमार्फत सम्भावित ग्राहकसम्म पु¥याउन सके साना उद्यमले पनि ठूलो बजार पाउन सक्ने थापाको अनुभव छ। ‘महिला आर्थिक रूपमा आत्मनिर्भर हुनुपर्छ। त्यसका लागि आफ्नो सीप र क्षमतालाई निरन्तर परिमार्जन गर्दै उद्यमशीलतामा लाग्न आवश्यक छ’, उनले भने, ‘इच्छाशक्ति, मेहनत र प्रविधिको सही प्रयोग गर्नसके गाउँमा राम्रो आम्दानी गर्न सकिन्छ।’

व्यवसायलाई अझ व्यवस्थित बनाउँदै नेपालका अन्य ठाउँमा समेत विस्तार गर्ने थापाको योजना छ। सामाजिक सञ्जालको पहुँचलाई थप विस्तार गर्दै म्याग्दी, मुस्ताङ र पर्वतमा उत्पादन हुने थप रैथाने वस्तुलाई बजारमा ल्याउने उनको लक्ष्य छ। गाउँका उत्पादनलाई गाउँमै सीमित नराखी ‘डिजिटल’ माध्यमबाट देश–विदेशका उपभोक्तासम्म पु¥याउने थापाको प्रयासले सामाजिक सञ्जाल केवल मनोरञ्जनको माध्यम मात्र नभई स्थानीय उत्पादनको बजारीकरण र साना उद्यमको विस्तार गर्ने प्रभावकारी साधन बन्नसक्ने उदाहरण प्रस्तुत गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट