चितवन : अपराध अनुसन्धान, बाढीपीडितको खोज तथा उद्धार र शव व्यवस्थापनमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटा भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले ‘उत्कृष्ट प्रहरी छनोट कार्यविधि २०७९’ बमोजिम सापकोटालाई २०८३ साल भदौ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो । कार्यालय प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले असोज ४ गते उहाँलाई उत्कृष्ट प्रहरी घोषणा गर्नुभएको हो ।
अपराध अनुसन्धान शाखा प्रमुखका रूपमा कार्यरत सापकोटाले विभिन्न घटनाको सफल अनुसन्धान गर्नुका साथै भरतपुर महानगरपालिका–१७ गाँजीपुरस्थित नारायणी नदी किनारमा २०७९ मङ्सिर १८ गते मानव कंकाल भेटिएको घटनामा संलग्न प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । डीएनए परीक्षणबाट मृतकको पहिचान भएपछि प्रतिवादीहरूलाई २०८३ साउन २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको कार्यालयले जनाएको छ ।
त्यस्तै, भोटेकोशी नदीमा आएको बाढीपछि खोज तथा उद्धारमा खटिनुभएका उहाँले नारायणी र त्रिशूली नदीबाट शव खोजी, पहिचान, आफन्तलाई हस्तान्तरण, शव व्यवस्थापन तथा डीएनए नमुना सङ्कलनलगायतका कार्यमा सरोकारवाला निकायसँग समन्वय गरी योगदान दिनुभएको थियो ।
बाढीले बगाएर ल्याएका शवबाट सुन तथा चाँदीका गहना चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन पनि उहाँले भूमिका निर्वाह गर्नुभएको कार्यालयले उल्लेख गरेको छ ।
संगठनले दिएको जिम्मेवारी इमानदारी, लगनशीलता र अनुशासनका साथ उत्कृष्ट रूपमा सम्पादन गरेको मूल्याङ्कन गर्दै सापकोटालाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उत्कृष्ट प्रहरी घोषित हुनुभएका सापकोटालाई कार्यालयले बधाई तथा आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij