चितवन : भरतपुर अस्पताललाई थप स्वच्छ, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउने अभियान अघि बढाइएको छ। बिरामीको उच्च चाप व्यवस्थापनसँगै अस्पताल प्रशासनले चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको सेवाग्राहीसँगको व्यवहार सुधारमा समेत विशेष ध्यान दिन थालेको हो।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेका अनुसार विभिन्न विभागका चिकित्सक तथा कर्मचारीलाई सेवाग्राहीसँग सम्मानजनक, सहयोगी र शिष्ट व्यवहार गर्न अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेको छ। हालसम्म तीनवटा अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेका छन्।
‘अस्पताल आउने सेवाग्राहीलाई राम्रो व्यवहार गर्दै उपचार सेवा दिनुपर्छ भन्ने भावनाको विकास गरिरहेका छौँ,’ डा. बगालेले भने। कामको चाप तथा अन्य कारणले हुने व्यवहारगत समस्याले कहिलेकाहीँ सेवाग्राही र अस्पतालका कर्मचारीबीच द्वन्द्व सिर्जना हुने गरेको उनले बताए।
उनका अनुसार अस्पतालको वातावरण र कर्मचारीको व्यवहारले बिरामी तथा आफन्तको उपचार सेवाप्रतिको विश्वासमा समेत प्रत्यक्ष प्रभाव पार्छ। त्यसैले उपचारसँगै सेवाग्राहीलाई दिने व्यवहारलाई पनि अस्पतालको गुणस्तरीय सेवाको महत्वपूर्ण हिस्सा बनाइएको छ।
सरसफाइ र हरियालीमा विशेष ध्यान
अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमका प्रमुख लिलाधर पौडेलको संयोजकत्वमा ‘हस्पिटल ब्युटिफिकेसन कमिटी’ गठन गरेको छ। समितिले अस्पताल परिसरलाई स्वच्छ, हरियालीयुक्त र आकर्षक बनाउनुका साथै सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने काम गरिरहेको छ।
अस्पतालमा कम्तीमा १५ दिनमा एकपटक बृहत् सरसफाइ अभियान सञ्चालन गर्न थालिएको छ। शौचालयलगायत विभिन्न स्थानमा सरसफाइको नियमित अनुगमन तथा अभिलेख राख्ने व्यवस्था पनि सुरु गरिएको अस्पतालले जनाएको छ।
अस्पताल परिसरमा बाल उद्यानसहित ६ वटा साना उद्यान छन्। ती क्षेत्रमा रहेका दुबो तथा बिरुवाको गोडमेल, छाँटकाँट र सरसफाइसँगै थप बिरुवा रोप्ने तथा भौतिक संरचनामा रङरोगन गर्ने काम भइरहेको छ।
बिरामीलाई बाटो र सूचना पहिचानमा सहजता
अस्पतालमा उपचारका लागि आउने बिरामी तथा आफन्तलाई सम्बन्धित भवन र विभागसम्म पुग्न सहज बनाउने कामसमेत अघि बढाइएको छ। विभिन्न रङ तथा संकेतको प्रयोगमार्फत सेवाग्राहीले आफू जानुपर्ने स्थान सजिलै पहिचान गर्न सक्ने व्यवस्था मिलाउन थालिएको हो।
त्यसैगरी अस्पतालभित्र आवश्यक सूचना सहज रूपमा प्राप्त गर्न सकिने गरी सूचना व्यवस्थापनमा सुधार गरिएको छ। शौचालय तथा अन्य सार्वजनिक स्थानको सरसफाइको नियमित अनुगमनलाई पनि प्राथमिकता दिइएको समितिले जनाएको छ।
समितिका संयोजक पौडेलका अनुसार अस्पताललाई बाहिरी रूपमा सफा र सुन्दर बनाउने मात्र नभई कर्मचारीको सेवाग्राहीसँगको व्यवहारमा समेत सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले अभियान सञ्चालन भइरहेको छ।
भरतपुर अस्पतालमा चितवनसहित विभिन्न जिल्लाबाट ठूलो संख्यामा बिरामी उपचारका लागि आउने गरेका छन्। अस्पतालको तथ्याङ्कअनुसार एकै दिनमा ३ हजार ८ सयसम्म बिरामीले बहिरङ्ग सेवा (ओपीडी) लिने गरेका छन्। यस्तो उच्च सेवाग्राही चापका बीच स्वच्छ वातावरण, सम्मानजनक व्यवहार र सहज सेवा प्रवाहमा सुधार ल्याउने अभियानले अस्पतालको सेवा संस्कृतिमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।