चितवन : प्राय सौराहा खोरसोर क्षेत्रमा डुल्ने जंगली भाले हात्ती ‘रोनाल्डो’ देख्दा रमाउँदै धेरै पर्यटकले फोटो भिडियो खिच्थे । खोरसोरको हात्ती प्रजनन केन्द्रका लागि यो निकै महत्त्वपूर्ण भाले थियो । तर शनिबार बिहानै चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बरण्डाभार जंगलको २० हजारी ताल क्षेत्रमा यो हात्ती मृत भेटियो । रोनाल्डोको करेन्ट लागेर मृत्यु भएको चितवन निकुञ्जले जनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनाश थापा मगरले टिकौली मध्यवर्ती सामुदायिक वन कार्यालयको भवनबाट लगभग ६ सय मिटर पर २० हजारी ताल जाने नहरको बाटोमा रोनाल्डो मृत भेटिएको बताए । निकुञ्ज सुरक्षाका लागि तैनाथ नेपाली सेनाको बरण्डाभार पोस्टका लागि बत्ती बाल्न लगेको बिजुलीको तार नै ‘सेलिब्रेटी’ बनेको यो हात्तीको मृत्युको कारण बन्यो ।
‘बरण्डाभार सुरक्षा पोस्टका लागि १६ फिट अग्लो पोलबाट लगेको बिजुलीको तारलाई तानेर मुखले टोकेको अवस्थामा रोनाल्डो नामक जंगली भाले हात्ती मृत भेटिएको हो ।’ चितवन निकुञ्जले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । सूचना अधिकारी अविनाश थापा मगरले रोनाल्डो करिब ४५ वर्षको भएको बताएका छन् । करेन्टले नै ज्यान गएको यो हात्तीको करेन्टसँग जोडिएका अन्य घटना पनि छन् ।
रोनाल्डो पोथी हात्तीसँग रोमान्समा यति मग्न हुन्थ्यो कि उसलाई रोक्न भनेर लगाएको विद्युतीय तारबारको बाधा पनि पन्छाउँथ्यो । सौराहामा पहिला ‘रोमियो’ नामको एउटा जंगली भाले हात्ती थियो । खोरसोर हात्ती प्रजनन केन्द्रमा रोमियोको एकछत्र राज थियो । अरू भाले हात्ती उसको छेउ पनि पर्न सक्दैन थिए । रोमियोको ज्यान करेन्ट लागेर नै गयो । त्यसपछि सुरु भएको हो ‘रोनाल्डो राज’ ।
सन् २००२ मा फुटबलको विश्वकप सुरु भएका बेला सौराहा क्षेत्रमा एउटा फुर्तिलो भाले जंगली हात्ती देखा परेको थियो । त्यो बेला चर्चित थिए ब्राजिलका स्टार फुटबल खेलाडी रोनाल्डो । सौराहाका स्थानीय र पथपर्दशक (नेचर गाइड)ले त्यो युवा भाले हात्तीको नाम राखे ‘रोनाल्डो’ । सुरुमै रोनाल्डोलाई खोरसोर जान गाह्रो थियो । त्यसैले सौराहाका हात्तीसारका पोथी हात्ती प्रति ऊ मोहित हुँदै गयो ।
आजभन्दा १२ वर्षअघि २०७१ सालको असार १४ को रातको घटना सौराहामा अझै पनि चर्चा गरिन्छ । सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोषको हात्तीसारमा थियो प्रकृतिकली नामको पोथी हात्ती । हात्तीसारमा आधुनिक विद्युतीय तारबार थियो । रोनाल्डोले त्यो विद्युतीय तारबार नै भत्कायो । त्यो तारबार आधुनिक खालको थियो, हात्तीले भत्काउन सक्दैन भन्ने धेरैलाई लागेको थियो ।
तर पोथीसँग मिल्न आतुर रोनाल्डोले जुक्ति लगाएर छेकबार भत्काएको त्यो बेला सौराहा सेक्टरको प्रमुख रहेका निकुञ्जका तत्कालीन सहायक संरक्षण अधिकृत रमेश थापाले बताएका थिए । रोनाल्डोलाई छेक्न विद्युतीय तारबार मात्रै हैन कर्मचारीले अन्य उपाय पनि लगाएका थिए । एउटा पोथी हात्ती बाहिरै राखेका थिए । तर रोनाल्डो बार भत्काएर भित्रै गएको कोषको अधिकारीहरूले बताएका थिए ।
सौराहादेखि पश्चिम उत्तरमा रहेको खोरसोर हात्ती प्रजनन केन्द्रमा ‘रोमियोको राज’ र ज्यान पनि करेन्टका कारणले नै अन्त्य भएको थियो । २०६४ असोज २८ गते आजभन्दा ठिक १९ वर्षअघि खोरसोर हात्ती प्रजनन केन्द्रमा करेन्ट लागेर रोमियो मरेको चितवन निकुञ्जका तत्कालीन पशु चिकित्सक डा. कमल गैरेले सम्झना गरे । रोमियोपछि रोनाल्डोले खोरसोरमा अरूलाई टेक्न दिँदैन थियो ।
खोरसोर हात्ती प्रजनन केन्द्र नेपालको एक मात्र सरकारी हात्ती प्रजनन केन्द्र हो । यहाँ जन्मेका छावा (हात्तीका बच्चा) हुर्केर तालिम पाएपछि निकुञ्ज सुरक्षा र अन्य अध्ययन अनुसन्धानको सरकारी काममा खट्ने गर्दछन् । सरकारलाई आवश्यक पर्ने हात्ती यहाँबाट आपूर्ति हुने गरेको छ ।
प्रजनन केन्द्र खुले पनि घरपालुवा भाले हात्तीबाट बच्चा जन्मन सकेका थिएनन् । यस्तो बेलामा रोमियो आएको थियो । रोमियोपछि रोनाल्डो त्यहाँको भरपर्दो भाले भएको थियो । यहाँ धुर्बे, गोविन्दे र अन्य जंगली भाले हात्ती नआउने हैनन् । तर रोनाल्डोसँग हुने प्रतिस्पर्धामा उनीहरू टिक्न सक्दैन थिए । केन्द्रमा जन्मेका ६९ छावामध्ये ३८ को पिता रोनाल्डो भएको निकुञ्जले जनाएको छ ।
रोनाल्डोसँग प्रतिस्पर्धा गर्न एक पटक दाह्रा नहुने भाले जंगली हात्ती ‘मकुना’ पनि खोरसोरमा पुगेको थियो । मकुनाको पनि रोनाल्डोको जस्तै दुखान्त भइसकेको छ । सेनाको गोली लागेर मकुनाको २०८१ माघमा मृत्यु भयो । गाउँ आएर दुख दिन सक्ने भन्दै चितवन निकुञ्जले खेदेर जंगलमा लगेको मकुना आक्रामक भएपछि आत्मरक्षाका लागि गोली चलाउँदा मरेको निकुञ्जले जनाएको थियो ।
खोरसोरको हात्ती प्रजनन केन्द्रमा सौराहा घुम्न आएका स्वदेशी, विदेशी पर्यटक पनि जाने गर्दछन् । त्यहाँ हात्तीको छावाको गतिविधि देखेर पर्यटक रमाउँछन् । त्यही हुन्थ्यो अजंगको रोनाल्डो । तर पर्यटक डराउने हैन उसलाई पृष्ठभूमिमा राखेर फोटो भिडियो खिच्थे । हेर्दा आक्रामक नदेखिए पनि यसले कम्तीमा १५ जनाको ज्यान लिएको निकुञ्जको भनाइ छ ।
जंगली भाले हात्तीहरू आ–आफ्नो स्वभावले परिचित छन् । धुर्बेलाई धेरै आक्रामक र २५ भन्दा बढी स्थानीयको ज्यान लिएको हात्तीको रूपमा चिन्दछन् । तर रोनाल्डो सेलिब्रेटी जस्तै थियो । हात्तीको वंश वृद्धिका लागि ठूलो भूमिका खेलेको रोनाल्डो हात्ती समुदायमा नै कति रुचाइएको पात्र थियो कुन्नि ? तर सौराहा पुग्ने पर्यटकलाई भने नबिर्सने पात्र भएर बिदा भएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij