Logo

Nov 02 2026 | २०८३, कार्तिक १७गते

भारी वर्षाको सम्भावनापछि चितवन प्रशासनको आग्रह– ‘सतर्क रहनुस्, राति लामो यात्रा नगर्नुस्’

भारी वर्षाको सम्भावनापछि चितवन प्रशासनको आग्रह– ‘सतर्क रहनुस्, राति लामो यात्रा नगर्नुस्’

चितवन : चितवनसहित देशभर आगामी केही दिन लगातार भारी वर्षा हुने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मौसम विज्ञान विभागको प्रक्षेपणअनुसार भारी वर्षाको सम्भावना रहेकाले सम्भावित बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै प्रशासनले पूर्वसतर्कता अपनाउन आग्रह गरेको हो।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अतिआवश्यक कामबाहेक रातिको समयमा लामो दूरीको यात्रा नगर्न आग्रह गरेको छ। अत्यावश्यक अवस्थामा यात्रा गर्नुपरेमा सडकको अवस्था तथा मौसमबारे सुरक्षा निकाय वा सम्बन्धित स्थानीय तहसँग जानकारी लिएर मात्र यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ। यात्राका क्रममा मौसम प्रतिकूल भई जोखिम उत्पन्न भए गन्तव्यमा पुगेरै छाड्ने प्रयास नगरी आफू रहेकै स्थान आसपासको सुरक्षित ठाउँमा बस्नसमेत प्रशासनले आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन्। स्थानान्तरणका क्रममा कुनै समस्या वा कठिनाइ भएमा सम्बन्धित स्थानीय तह वा नजिकको सुरक्षा निकायमा तत्काल सम्पर्क गर्नसमेत उनले अनुरोध गरेका छन्। प्रशासनले भारी वर्षाको समयमा बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिम हुन सक्ने भएकाले मौसम तथा स्थानीय प्रशासनको सूचनालाई ध्यान दिई आवश्यक सावधानी अपनाउन जिल्लावासीलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij